आज :

ताजा समाचार

पनौती नगरपालिकाको वडा नं. ४ बालश्रममुक्त वडा घोषणा

  पुरुषोत्तम ढकाल    १४ जेष्ठ २०८१, सोमबार ०६:३८      183 Views

काभ्रे: काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिकाले वडा नं. ४ लाई बालश्रममुक्त वडा घोषणा गरेको छ । एक कार्यक्रमका बीच नगरका प्रमुख रामशरण भण्डारीले बालश्रममुक्त वडा भनि घोषणा गरेका हुन् ।

नगरका १२ वडा मध्ये वडा नं. ४ बालश्रममुक्त वडा घोषणा भएको १० औं वडा हो । नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा कार्यविधी, २०७८ अनुसार पुरा गर्नुपर्ने ५१ सूचक पुरा गरेका वडाहरुलाई बालश्रम मुक्त वडा घोषणा गरेको बताएको छ । यस अघि पनौतीका ९ वटा वडाहरु बालश्रममुक्त वडा भनी घोषणा भैसकेका छन् । बाकी रहेको २ वटा वडालाई पनि घोषणा गर्ने प्रक्रियामा अगाडि बढाइएको नगरपालिकाले जानकारी दिएको छ ।

आइतबार वडा कार्यालयको हलमा भएको कार्यक्रमका प्रमुख अतिथि अर्थात नगर प्रमुख रामशरण भण्डारीले बालश्रममुक्त वडा घोषणा गर्न सहयोग गर्नुहुने सम्पुर्ण व्यवसायी, बिद्यालय, सामाजिक अभियान्ता, बालक्लब, जनप्रतिनिधि , सहजकर्ताहरुमा धन्यवाद व्यक्त गरेका छन् । साथै उनले छिट्टैनै नगरलाईनै बालश्रममुक्त घोषणा गर्ने र यसको दिगोपनकोलागि नगरले योजना बनाएको पनि बताएका छन् । उन्ले बालबालिकाको क्षेत्रमा निरन्तर बजेट व्यवस्थापन गर्दै उनिहरुको शारीरिक र मानसिक वृद्धि र बिकासको लागि नगर लागिपर्ने पनि बताएका छन् ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख गीता बन्जाराले पनौती नगरले आफ्नै लगानी र श्रोत प्रयोग गरेर ५१ वटा सुचक पुरागर्न सफल भएको बताइन् । उनले आज वडा नं. ४ बालश्रममुक्त घोषणा भएको छ, यसलाई सबैले अपनत्व लिइ आगामी दिनमा बालबालिकालाई बालश्रममा नलगाउन र कसैले लगाएमा खबरदारी गर्न समेत आग्रह गरिन ।
वडा न ४ का वडा अध्यक्ष दिपक प्रसाद दाहालले हामी सबै मिलेर अगाडि बढ्यौं भने मात्रै आगामी दिनमा पनि यस वडालाई बालश्रम मुक्त देख्न सकिने धारणा राखे । बालबालिकामाथी श्रम र हिंसा गर्ने मानिसले समाजको लागि केही गर्न नसक्ने धारणा पनि उनको थियो । श्रम रोजगार तथा सामाजिक बिकास मन्त्रालयका उप सचीव जितेन्द्र शर्माले बालश्रम सामाजिक अपराध हो भन्दै संविधानले बालश्रम लगाएत सबै प्रकारका श्रम शोषण अन्त्य गरिने भनी उल्लेख गरेको धारणा राखे ।

नगरपालिकाका बालमैत्री शाखा प्रमुख केशव बन्जाराले आजको यो उपलब्धि बालमैत्री सहजकर्ता र जनप्रतिनिधि सबैजना दिनरात नभनी खटिएको कारण प्राप्त गर्न सकिएको बताए । उनले यश कार्यको लागि एक घर एक मिनेट जनप्रतिनिधि अभियाननै संचालन गरेको पनि बताएका छन् ।
कार्यक्रममा बालश्रम नगर्ने भनी सामुहिक प्रतिबद्धता समेत गरिएको थियो । कार्यक्रममा २८ वटा उद्योगी व्यवसायीलाई बालश्रममुक्त वडा घोषणा गर्न सहयोग गरेको भन्दै सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो त्यस्तैगरि वडा भित्रका सबै बिद्यालय, स्वास्थ चौकी, प्रहरी चौकी, स्वयंसेवीका, पत्रकार , लगाएतकालाई पनि अभियानमा सहयोग पुर्याएको भन्दै सम्मान गरेको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी भाइबहिनीहरुले बालश्रम सम्बन्धि नाटक नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रम नगर प्रमुख रामशरण भण्डारी, उप प्रमुख गीता बन्जारा, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद चापागाईं,शिक्षा निर्देशक प्रणराज न्यौपाने , वडा अध्यक्षहरु , वडा सचीवहरु,अभियान्ताहरु लगाएतको उपस्थितमा भएको थियो ।


प्रतिक्रिया दिनुहोस