आज :

ताजा समाचार

एक महिना विद्यालय बन्द हुँदा बच्चालाई कसरी राख्ने ? यस्ता छन् १० टिप्स

  पुरुषोत्तम ढकाल    ४ चैत्र २०७६, मंगलवार १४:४२      5787 Views

काठमाडौँ :  विद्यालय छुट्टि हुँदा प्रायः बालबालिकाहरु रमाउँछन् । तर, लामो समय विदा हुँदा भने अभिभावकले धेरै पक्षहरुबाट उनीहरुको ध्यान गर्नुपर्ने हुन्छ । अरुबेला विदाको समय कसरी सदुपयोग गर्ने भन्ने मात्रै सोच्दा हुन्थ्यो । तर, अहिले उनीहरुलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता पनि छ ।

मनोविश्लेषक बासु आचार्यको भनाइमा यसबेला बच्चाहरुलाई गाउँ पठाउनु सबैभन्दा राम्रो विकल्प हो । तर, काठमाडौंमा घर भएका वा गाउँ पठाउन सम्भव नभएका अवस्थामा अभिभावकले उनीहरुलाई बढीभन्दा बढी सिर्जनात्मक काममा संलग्न गराउनुपर्ने उनले बताए ।

मनोविश्लेषक बासु आचार्यले अभिभावकलाई दिएका टिप्स यस्ता छन् :-

१।  एक महिनाको बीचमा सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय सरसफाइ हो । सरसफाइमा कसरी बस्ने र भाइरसको संक्रमणबाट कसरी बच्ने भनेर अभिभावकले आफ्ना बच्चालाई बुझाउनुपर्छ ।

२।  लामो छुट्टीका बेला बच्चाहरु मोबाइलको लतमा फस्ने सम्भावना अति बढ्छ । अभिभावक पनि बच्चाहरुलाई मोबाइलमा लट्पट्याएर आफ्नो काममा लाग्ने गर्छन् । यो एकदमै बेठीक हो । बच्चाहरुलाई मोबाइलबाट सकेसम्म टाढा राख्नुपर्छ ।

३।  बच्चाहरुलाई बढीभन्दा बढी अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्छ । नयाँ–नयाँ रमाइला खेल सिकाउनुपर्छ । दिनभरिको रुटिन नै बनाएर उनीहरुलाई विभिन्न क्रियाकलाप गराउनुपर्छ ।

४।  बच्चाहरुलाई उनीहरुको उमेरअनुसार पढ्ने सामग्रीहरु उपलब्ध गराएर पढ्न प्रेरित गर्नुपर्छ । कथाका किताबहरु, बालपत्रिका वा उनीहरुले मन पराउने अन्य पाठ्य सामग्री दिन सकिन्छ । यसबाट उनीहरुको पठन व्यवहार सुधार हुन्छ ।

५।  बच्चाहरुलाई घरभित्रका सानातिना कामहरु गर्न सिकाउन सकिन्छ । १० वर्षमाथिका बच्चाहरु छन् भने पानी उमाल्न, चिया पकाउन सिकाउँदा राम्रो हुन्छ । साथै, घरका सामानहरु मिलाउने, सफासुग्घर गर्ने कुराहरुमा पनि उनीहरुलाई प्रेरित गर्नुपर्छ ।

६।  यस्तो समयमा धेरै आमाबुवाहरु आत्तिन्छन् । भुईंचालोका बेलामा आमाबुवाहरु धेरै आत्तिँदा त्यसको मानसिक असर बच्चाहरुमा परेको थियो । यदि नेपालमा कोराना प्रवेश भयो भने त्यही अवस्था दोहोरिने खतरा छ । त्यसैले बाबुआमा कदापि आत्तिनुहुँदैन । आत्तिएमा पनि बच्चाका अगाडि देखाउनु हुँदैन । बच्चाहरुलाई डर देखाउनु त झनै हुँदैन । उनीहरुलाई हामी रोगबाट सुरक्षित छौं भनेर आश्वस्त बनाउनुपर्छ । असुरक्षाको भावना पैदा गर्नुहुँदैन ।

७।  बच्चाहरुलाई दिनभरि कोठाभित्रै कोचेर राख्नु पनि गलत हुन्छ । टाढा नगए पनि घरबाट नजिक, कम भिडभाड भएका स्थानहरुमा घुमाउन लैजानुपर्छ । तर, यसरी बाहिर लैजाँदा मास्क लगाउने तथा अन्य सावधानीहरु अपनाउनुपर्छ ।

८।  बच्चाका रुचीहरु फरक हुन्छन् । कसैलाई ड्रोइङमा रुची हुन्छ भने कसैलाई वाध्यवादनमा । उनीहरुको रुचीअनुसार क्षमता विकास गर्न अभिभावकले आवश्यक सामग्रीहरु उपलब्ध गराइदिनुपर्छ ।

९।  यदि तपाईंको घर गाउँमा छ र हजुरबा–हजुरआमा बस्नुहुन्छ भन्ने बच्चालाई गाउँ पठाइदिनु सबैभन्दा राम्रो हो । गाउँको वातावरण र माहोलमा बच्चाहरुले धेरै कुरा सिक्न पनि पाउँछन् । हजुरबा–हजुआमा फुर्सदिला हुने भएकाले बच्चाहरुको राम्रो केयर पनि गर्नु हुन्छ । घर नभए बच्चाको मामाघर पठाउँदा पनि हुन्छ ।

१०।  यस्तोबेला अभिभावकको भूमिका एकदमै अहम हुन्छ । उनीहरुले छाडा छोडेमा बच्चाहरु बिग्रन सक्छन् । त्यसैले पर्याप्त सचेतना अपनाउनुपर्छ ।

– मनोविश्लेषक बासु आचार्य


प्रतिक्रिया दिनुहोस