काठमाडौं: ताइवानको विषयलाई लिएर अमेरिका र चीनबीचको विवाद उत्कर्षमा पुगेको छ । दुई मुलुकबीच युद्धको सम्भावना देखिएको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणलाई लिएर तनाव बढेको हो ।
पेलोसी एसिया भ्रमणका लागि सोमबार सिंगापुर पुगेकी छन् । उनी ताइवानको राजधानी ताइपेई पुग्ने बताइएपछि चीनको कडा प्रतिक्रिया आएको छ । उसले यदि पेलोसीले ताइवानको भ्रमण गरेमा आक्रमण गर्ने चेतावनी नै दिएको छ । ताइवानलाई चीनले आफ्नो अभिन्न अंग ठान्छ । अमेरिकाले भने चीनको चेतावनीले नडराउने जवाफ फर्काएको छ।
दुई मुलुकका अधिकारीबीच आरोप प्रत्यारोप चलिरहँदा ताइवान आसपासको समुद्रमा युद्धपोत र लडाकु जहाजको चहलपहल बढेको छ । रोयटर्सका अनुसार अमेरिकाले चार वटा युद्धपोत ताइवान नजिक लगेर राखेको छ। यसलाई ताइवानमाथि चीनले आक्रमण गरे तत्कालै जवाफ दिने अमेरिकाको रणनीति हुन सक्ने विष्लेषण गरिएको छ । तर अमेरिकाले भने यसलाई नियमित प्रक्रिया भनेको छ ।
चीनले पनि ताइवान नजिकैको समुद्रमा ठुलो संख्यामा लडाकु जहाज तैनाथ गरेको छ । अनौपचारिक सीमा क्षेत्रमा कैयौं चिनियाँ युद्धपोत पनि देखिएको रोयटर्सले उल्लेख गरेको छ । ताइवान नजिक चिनियाँ लडाकु जहाजको गतिविधि बढेको प्रत्यक्षदर्शीको भनाई छ ।
ताइवान नजिकका चिनियाँ शहरमा बख्तरबन्द गाडी सडकमा गुडिरहेका तस्बिर समाजिक संजालमा आएका छन् । यसले पनि चीन आक्रामक हुन थालेको विष्लेषण गरिएको छ ।
चीनले आफू तयार भएर बसेको भन्दै सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि शक्तिशाली जवाफ फर्काउने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले भनेका छन्, ‘यदि पेलिसीले ताइवान जाने दुस्साहस गरिन् भने चिनियाँ जनमुक्ति सेना चुप लागेर बस्ने छैन’ ।
एजेन्सीको सहयोगमा