आज :

ताजा समाचार

हरिप्रसाद ढकालको विचार : करोना कहर र शिक्षा क्षेत्र

  पुरुषोत्तम ढकाल    ११ जेष्ठ २०७७, आईतवार २०:२१      1079 Views

कोरोना कहर र शिक्षा क्षेत्र:

२०१९ को अन्त्यतिर चीनको उहान सहरमा पहिलोपटक देखा परी प्रमाणित भएको कोरोनाका कारण अहिले यतिबेलासम्म प्राप्त जानकारी अनुसार संसारभरमा ५४२०६३७ जना मानिस सङ्क्रमित छन् । तीमध्ये २२५५०६० जना मानिस उपचारपछि निको भएर घर फर्केका छन् भने ३४४२५६ जना मानिसले आफ्नो सुन्दर जीवनलाई मृत्युको अघि लाचार भएर समाप्त गराएका छन् । यस्तो विषम परिस्थितिबाट विश्वका २१६ राष्ट्र वा प्रशासित इलाका प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । जसमा नेपाल पनि अछूतो रहन सकेन ।

२०७६ चैत ११ गतेदेखि जारी लकडाउन २०७७ जेठ ११ गतेसम्म आइपुग्दा लकडाउनको ६२ औं दिनसम्म (अहिलेसम्म) को विवरण अनुसार नेपालमा ५८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ७० जना उपचारपछि निको भएर घर फर्केका छन् भने ३ जनाले यही महामारीको कारण अमूल्य जीवन गुमाउनु परेको छ । धेरैको पारिवारिक र सामाजिक जीवन बिचल्लीमा परेको छ । चीनबाट इटाली हुँदै पूरा युरोपलाई सिकिस्त बनाएको उक्त कोरोना भाइरसका कारण विश्वकै समृद्ध मानिएको देश अमेरिका हाल थला परेको छ । सबैभन्दा बढी कोरोना सङ्क्रमित तथा मृतकको देशको परिचय प्राप्त गरेको छ, अमेरिकाले ।

अमेरिका, इटाली, बेलायत, फ्रान्स जस्ता धनी र उच्च गतिको जीवनस्तर रहेको मानिएका देशहरूको यो हालतले कुनै पनि देशको मानव विकास सूचकाङ्कको मानकमाथि नै दह्रो प्रश्न चिन्ह खडा गरेको छ । नेपालसँगको खुला सीमा रहेको भारत अनि भारतीय र नेपालीबीचमा रहेको एकापसको घुलमिल अनि भारतमा दैनन्दिन रूपमा बढिरहेको सङ्क्रमणको सङ्ख्या र नेपालमा समेत ह्वात्तै बढेको कोरोना सङ्क्रमितको सङ्ख्याले हामीलाई जरुर चिन्तित बनाएको छ ।

कोरोनाको महामारीका कारण विश्व नै आक्रान्त भएको अहिलेको अवस्थामा नेपाल प्रभावित नहुने त प्रश्न नै रहेन । कोरोनाले नेपालमा सामाजिक, आर्थिक, दैनन्दिन क्रियाकलापका साथै शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा अत्यन्त तीव्र प्रभाव पारेको छ । जसमध्ये शिक्षा क्षेत्रको कुरा गर्ने हो भने यो क्षेत्र अचेतन अवस्थामा पुगेको छ भन्दा केही फरक नपर्ला ।

विश्वमा देखिएको कोरोनाको सङ्क्रमणबाट नेपाललाई जोगाउनका लागि नेपाल सरकारले गरेको पहल उचित नै देखिन्छ तर पनि शिक्षा क्षेत्रका सन्दर्भमा केही पक्ष बढी चिन्ताजनक स्थितिमा छन् ।

जुन प्रतिनिधि रूपमा निम्न छन् :
१. कक्षा १० को माध्यमिक शिक्षा परीक्षा कहिले र कसरी सन्चालन हुन्छ, जसबारे कसैले पनि स्पष्ट जवाफ दिन सक्ने स्थिति छैन । उक्त परीक्षा सन्चालनका सम्बन्धमा नेपाल सरकार चुकेको देखिन्छ ।२०७६ चैत ०५ गतेभित्रमा कक्षा ९ सम्मको परीक्षा सक्न स्थानीय तह र विद्यालयहरूलाई निर्देशन दिन जान्ने सरकारले किन आफैँले चाहिँ सो कुराको हेक्का राख्न सकेन ? उतिबेला नै विचार पुर्याउन नसक्ता अहिले यो सङ्कटको चेपुवामा पर्न गएको हो । अब यतिखेर कतिपयले परीक्षा लिनै नपर्ने वा विद्यालयले लिएको परीक्षालाई नै मान्यता दिनुपर्ने, यो परीक्षा निरर्थक छ भन्ने जस्ता धारणा राख्न थालेका छन् । यस्तो धारणाको दीर्घकालीन असर तथा अबको निकासका सम्बन्धमा सोच्न ढिलाइ गर्ने समय छैन । फेरि परीक्षाका लागि तयार भई बसेका लाखौं विद्यार्थीको मानसिक पक्षको विश्लेषण गरी निकास निकाल्न अबेर गर्ने बेला छैन ।

एकातिर परीक्षा सन्चालनका लागि आवश्यक सबै प्रबन्ध मिलाई सकेको बेलामा परीक्षाको मुखैमा आएर परीक्षा स्थगित भएको छ । अब परीक्षा नलिए परीक्षाका लागि खर्च भएको करोडौं रुपियाँ त्यतिकै खेर जान्छ । परीक्षार्थीले परीक्षा बापतको राजश्व बुझाई सकेका छन् । अब यो परीक्षा यतिकै स्थगित गर्नुभन्दा बरू प्रदेश र स्थानीय तहको समन्वयमा सम्बन्धित विद्यालयमा नै परीक्षा केन्द्र तोकी पूर्ववत् तयार भएका प्रश्नपत्र र उत्तरपुस्तिका प्रयोग गरी परीक्षा लिन सकिन्छ । विद्यालयभन्दा टाढा घर ठेगाना भई त्यहाँ पुगेका विद्यार्थीका हकमा उसको नजिकैको परीक्षा केन्द्रमा निजलाई सामेल गराई परीक्षा लिन सकिन्छ । परीक्षा पश्चात् स्थानीय तहको समन्वयमा उपु परीक्षण गराउन सकिन्छ । परीक्षा नलिनेभन्दा लिने विकल्पमा बढी चिन्तनमनन गर्नु उपयुक्त हुने मेरो निजी दृष्टिकोण रहेको छ । यसका लागि कोरोनाको प्रभावको सूक्ष्म आँकलन गर्दै सर्वप्रथम एउटा अनुमानित समय तालिकाका सम्बन्धमा भने छिट्टै सोच गर्नुपर्ने देखिन्छ ।

. कक्षा ११ र १२को स्थगित भएको परीक्षाका सम्बन्धमा पनि कक्षा १० को परीक्षा सन्चालन भई सकेपछि केही हप्ताको अन्तरमा कक्षा १० को परीक्षा सन्चालनको ढाँचामा नै उक्त कक्षा ११ र १२को परीक्षा लिन सकिन्छ । यदि कक्षा १० को परीक्षा लिन नसक्ने हो भने कक्षा ११ र १२ को परीक्षा पनि लिन सम्भव हुन्न ।

. शैक्षिकसत्र २०७७ को कार्यान्वयनका लागि जारी लकडाउन खुलेर स्थिति सामान्य हुँदै गएपछि विद्यालयमा शिक्षक र विद्यार्थीको सहज र सुरक्षित आवतजावतको व्यवस्था मिलाउनुपर्ने हुन्छ । साथै, नियमित स्वास्थ्य परीक्षण, भौतिक दूरी (सामाजिक दूरी भन्ने शब्द व्यावहारिक रूपमा उचित नभएको) कायम राख्नुपर्ने देखिन्छ । विद्यालयमा पुग्ने शिक्षक, विद्यार्थी, अभिभावक वा अन्य जोकोहीले आफ्ना कारणले अरू र अरूका कारणले आफू कुनै खतरामा नरहेको कुरामा ढुक्क हुने वातावरण निर्माण गर्नुपर्दछ । यसका लागि स्थानीय तहको समन्वयमा विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गर्नुपर्दछ । यदि स्वास्थ्यकर्मीको जनशक्ति अभाव हुन गएमा नजिकैको विद्यालयमा नियमित स्वास्थ्य परीक्षण गराउने वा सीमित मात्राका शिक्षकलाई आवश्यक प्रशिक्षण दिई विद्यालयमा खटाउन सकिन्छ ।
केही समयका लागि विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयका हकमा एक दिन वा दुई दिन बिराएर कक्षामा विद्यार्थी बोलाउने व्यवस्था मिलाउन सकिन्छ । कक्षा नियमित सन्चालन गरे पनि विद्यार्थीलाई भने सङ्ख्याका आधारमा एकदुई दिनको अन्तरमा मात्र बोलाउन सकिन्छ ।

४. विश्वविद्यालय तहका कक्षामा भने खुला सिकाइ, वैकल्पिक सिकाइका अवधारणालाई प्रयोग गर्न सकिन्छ ।

५. खास गरी निजी क्षेत्रमा काम गर्ने शिक्षक, कर्मचारी लगायतका हजारौं व्यक्तिको रोजगारी गुम्ने अवस्था सिर्जना भएको छ । व्यक्ति र संस्था दुवैलाई समस्याबाट जोगाउनु अहिलेको लागि चुनौतीपूर्ण स्थिति रहेको छ । जसको लागि केही विकल्प सोच्न ढिलो गर्न हुँदैन । यस स्थितिमा जति सकिन्छ, हात खाली नहुने गरी नियमित पारिश्रमिकको व्यवस्था भने गर्नैपर्छ । संस्था सन्चालकले नाफा घाटाभन्दा पनि मानवीयतालाई ख्याल गर्नुपर्ने हुन्छ भने त्यहाँ कार्यरत शिक्षक कर्मचारीले पनि आफ्नो पूरै पारिश्रमिकको दाबी नगर्नु नै उत्तम हुन्छ ।

जेहोस् , अहिले शिक्षा क्षेत्र अचेतन र घायल अवस्थामा छ । यसलाई ब्युँताउन जरुरी छ तर यहाँ असाध्यै ख्याल गर्नैपर्ने कुरा के छ भने, स्वास्थ्य क्षेत्रको स्थिति र आँकलनलाई भने ध्यान दिनैपर्छ ।

नोट: यसमा व्यक्त विचार हरिप्रसाद ढकालको निजी विचार भएकोले यहाँहरूको विचारसँग मेल नखान पनि सक्छ । यहाँले आफ्नो प्रतिक्रिया भने जनाउन सक्नुहुनेछ ।

(लेखक: हरिप्रसाद ढकाल, चानपा-७, भक्तपुर )


प्रतिक्रिया दिनुहोस