आज :

ताजा समाचार



कोरोना कहरमा शिक्षा: प्रभावकारी बन्न सक्छ अनलाइन कक्षा ?

  खुल्ला पोस्ट    १० जेष्ठ २०७७, शनिबार १०:५८      260 Views

कोभिड–१९ ले गरेको अकल्पनीय क्षति र त्रासको सिकार विश्वका अधिकांश मानिसहरु भइरहेका छन् । भयावह रुप लिएको यो भाइरसबारे अनुसन्धान त अझै जारी छ । यद्यपि, देशको आर्थिक, भौतिक तथा सामाजिक विकास संगसंगै  शैक्षिक क्षेत्र धराशयी बन्दै जादा  चिन्ताहरु थपिदै गएका छन् । हुनत समस्यालाई लिएर चिन्ता भन्दा पनि चिन्तनगर्ने समय हो यो ।
इतिहासमा ठूला ठूला महामारीसंग  पैठेजोरी खेलेको मानव पुस्ता विभिन्न विकल्प मार्फत कोरोना मुक्तिको खोजीमा तल्लीन छ । तर, संकटको दलदलमा फसिरहेको समाजलाई बालबालिकाको भविष्यबारे सोच्ने फुर्सद हुदैन । चाहे त्यो युद्धको समयहोस् वा महामारी । उनीहरुको मनोविज्ञान, विचार, शिक्षाजस्ता कुराहरुमा प्रशस्त चिन्तन भएको पाइन्नन् । म तिनै विद्यार्थी तथा वाबालबालिकाहरु बारे सोच्दैछु, जो भविष्यका कर्णदार समेत हुन् ।
यो महामारीको समय साचै  के गर्दै छन् त उनीहरु ? कोहीअनलाइन कक्षामा पढ्ने बानी बसाल्दैछन्  त कोही साथीभाइ, परिवारसँग समय बिताइरहेका छन् । कोही मनोवैज्ञानिक त्रासमा दिन काटिरहेका छन् । हुन त यो समयमा उनीहरुलाई मनोवैज्ञानिक रुपमा तयार पारी पठनपाठन कसरी गराउने भन्ने विषयमा राज्यको गृहकार्य पुगेको छैन । शिक्षाविद्का राम्रा सुझावलाईआत्मसात गरेको पनि देखिन्न ।
तैपनि तत्कालीन समयमा कतिपय निजीविद्यालयहरुले अलनाइन कक्षामार्फत् पढाउन सुरु गरेका छन् । नेपालका विश्वविद्यालयले अनलाइन कक्षाबाट पठनपाठन थालेपछि निजी स्कुलका सञ्चालकहरुले पनि यसलाई विकल्पको रुपमा सबैभन्दा प्रभावकारी माध्यम ठाने । अमेरिका, चीन जस्ता देशमा अहिले अनलाइन कक्षाकै सहायताले पढाई भइरहेका छन् । तथापि, अनलाइन कक्षा उचितहो वा होइन भन्नेबारे विश्वमा नै बहसको स्थिति सिर्जना भएको छ ।
अमेरिका जस्तो विकसित राष्ट्रमा त इन्टरनेटको  पहुच नहुदा पठनपाठन प्रभावित भएको छ भने नेपालको चुनौतिबारे अनुमान गर्न सकिन्छ । त्यसो भए यसको विकल्प के त ? प्रश्नहरु उठ्न सक्छन् । अहिले विद्यालयदेखि विश्वविद्यालय तह सम्मका ९० लाख विद्यार्थी लकडाउनका कारण घरभित्रै रहदा मनोवैज्ञानिक त्रास बढ्दै गएको छ । नया“ शैक्षिक सत्र, भर्ना प्रक्रियावा परीक्षा सञ्चान कसरी अगाडि बढ्लान् भन्ने विषयमा अभिभावकमा चिन्ता थपिएको छ ।
यो घडीमा अनलाइन कक्षा नै एउटा विकल्पहो कि भनेर सोच्न सकिएला । अनलाइन कक्षा कसरी लिने र दिने दुवैमा शिक्षक, स्कुल सञ्चालक, विद्यार्थीहरु अन्योल भएपनि व्यावहारिकतामा लैजाने सुरुवात भने सुखद् पक्षहो । सूचना र प्रविधिको युगमा कतै यो ढिलाइ पो भयो कि भनेर सोच्ने बेला पनि नआएको होइन । अमेरिकी शिक्षाविद् सर केन रविन्सनको स्तरीय शिक्षाबारे आशयलाई बुझ्ने हो भने अब शिक्षामा सुधार हैन, रुपान्तरण गर्न ढिला भइसकेको छ । यसको लागि प्रशस्तअभ्यास भने गर्न जरुरी छ । चीनले अनलाइन कक्षा सुरु गर्नु अघि नै जहाँजहाँ इन्टरनेटको पहुँच छैन, त्यहाँ -त्यहाँ  उपलब्ध गराउन पहल गर्नुपर्यो  ।
नेपालमा ७२ प्रतिशत सँग  इन्टरनेटको पहुँच रहेको तथ्यांक दुरसञ्चारसंग छ । चीनले गरेजस्तै नेपाल सरकारले पनि पहुँच नहुने ठाउँमा इन्टरनेट उपलब्ध गराउन पहल गर्न सक्छ । नेपाल टेलिकमले निश्चित समय सम्मका लागि विद्यार्थी, शिक्षकहरुका लागि इन्टरनेट निशुल्क गराउन सक्छ । अनलाइन कक्षा सुरुसंगै अनलाइ मैत्री पढाइबारे योजना बनाउन सकिन्छ ।
शिक्षकहरुलाई कक्षाका लागि प्रशिक्षणको व्यवस्था अनलाइनबाटै गर्न सकिन्छ । भौतिक रुपमा सम्मुख रहेर पढाउनु भन्दा कठिन त पक्कै नै हुन्छ अनलाइन कक्षा । तर, त्यसैलाई सहज बनाउन पनि असम्भव भने छैन । एउटा निश्चित समय तोकेर सिर्जनात्मक तबरले अनलाइन कक्षालाई उपयोगी बनाउन सकिन्छ भन्ने मेरो धारणा हो ।
अर्को चाहिँ कक्षा परीक्षामुखी भन्दा पनि सिकाइ मुखी बनाउन सकिन्छ । त्यसो हो भने विद्यार्थीको रुचि अनुरुप पढाउन सकिन्छ । तर, जहा“ अनलाइन कक्षा सम्भव नै छैन ,त्यहा“ टेलिभिजन र रेडियो कार्यक्रम मार्फत् पनि सिकाइ गराउन सकिन्छ । वा त कतिपय विज्ञहरुले भन्दै आएको स्मल स्कुलको अवधारणा पनि सम्भव भएसम्म साना समुदायमा सुरु गर्न सकिन्छ । त्यसको लागिपनि रचनात्मक सिकाइलाई जोड दिनु आवश्यक छ ।
कक्षा सञ्चालनको सवालसगै अहिले उठिरहेको अर्को सवाल छ एसइई परीक्षा । कुनै समय फलामको ढोका मानिने ‘एसएलसी’अर्थात् एसइई परीक्षा स्थगितको मारमा करिब ५ लाख विद्याथीछन् । भविष्य अन्यौल होला कि भनेर उनीहरुमा मनोवैज्ञानिक त्रास थपिदो छ । भनिन्छ, संकटले अवसरलाई पनि सगै लिएर आएको हुन्छ । कोरोनाले पनि विश्व भ्रमणसगै अवसर पनि लिएर आएको छ ।
दुर शिक्षा लगायत विभिन्न अन्तर्राष्ट्रिय मोडल अनुसारका शिक्षा प्रणालीलाई पालना गर्न हामीलाई घच्घच्याइ रहेको छ । यो चुनौतिलाई सरकारले अवसरका रुपमा ग्रहण गर्न जरुरी देखिन्छ । नेपालका शिक्षाविद् केदार भक्त माथेमा, विद्यानाथ कोइरालाको सुझावलाई लागू गर्दा पनि कुनै समस्या छैन । एसइई परीक्षाको डरलाग्दो भूत विद्यार्थीहरुमा सवार गरेर उनीहरुमा किन मनोवैज्ञानिक त्रास छर्ने ?आखिर एसइई परीक्षाको औचित्य के ?
स्कुलले लिएको आन्तरिक परीक्षालाई आधार मानेर सबै विद्यार्थीहरुको नतिजा प्रकाशन गर्दा अनुचितहुन्न । अन्तर्राष्ट्रिय अभ्यासबारे सरकारले ध्यानदिनु जरुरी छ । ‘शिक्षामा लगानी बालुवामा पानी’ जस्तो भइरहेको देशमा सरकारको  यतिबेला सोच्ने फुर्सद पनि छ । कसरी नेपालको शिक्षा प्रभावकारी बनाउन सकिन्छ भन्ने  कुरामा दखललिने समय छ ।
नेपालमा करिब ६ हजार ५ सय निजी र २८ हजार ५ सय सामुदायिक गरी ३५ हजार विद्यालय छन् । यति धेरै संख्यामा रहेका सामुदायिक विद्यालयलाई सरकारले बेवास्ता गरिरहेको अवस्था छ । खस्कदो शैक्षिक स्तरका कारण अभिभावकहरुमा सामुदायिक विद्यालयप्रतिको विश्वास कम छ । उनीहरु धेरै खर्च गरेर निजी विद्यालयमा आफ्नो बालबालिका पढाउन बाध्य छन् । यसर्थ सामुदायिक विद्यालयलाई तिरस्कार गर्ने वातावरण सरकारले हटाइसक्नुपर्छ ।
कतिपय निजी भन्दा अब्बल र्दजा भएका सामुदायिक विद्यालयको नमुना अब देशभर फैलाउनुपर्छ । विद्यालयको मुख्य ध्यान शिक्षण  सिकाइ सुधारमा नै केन्द्रित गर्नुपर्दछ । विद्यालयबाट टाढा रहेका विद्यार्थीहरुलाई नया स्वरुपको शिक्षा, घरायासी, सामाजिक वातावरणको बारेमा थपजानकारी दिनु आवश्यक छ । जबकि, उनीहरुलाई विद्यालय, आफ्नो शिक्षा प्रति चिन्ता नहोस् ।
अर्कोचाहि जोन हल्ट, गिजुभाइ, जुलिया वेबर गर्डन,तेच्चुको कोरियोनागी जस्ता प्रसिद्ध लेखक तथा शैक्षिकअभियन्ताहरुको परिकल्पना माथि पनि हामीले प्रयोग गर्ने बेला अब आएको छ । निरक्षरता उन्मुलन गर्ने लक्ष्यसहित सरकारले गरेको कार्य, खुल्ला विश्वविद्यालयको अवधारणा, विद्यालय शान्ति क्षेत्र घोषणा, बालमैत्री शिक्षण सिकाइ, दुर शिक्षा लगायतका योजनाले नेपालको शैक्षिक क्षेत्रमा जति परिवर्तन ल्याउनुपर्ने हो, त्यो परिवर्तन खासै आएको पाइदैन ।
तसर्थ नेपाल माटो सुहाउदिलो शिक्षा (मौलिक शिक्षा) को नाममा विदेशिएका अरबौं रकमलाई स्वदेशमै लगानी गरेर नेपालको हितमा सदुपयोग गर्न सके शैक्षिक विकासमा सुधार कसो नआउला ?
(लेखक : गंगा ढुंगाना, एमएड, तेस्रो सेमेस्टर, चैतन्यबहुमुखी क्याम्पस , बनेपा, काभ्रे )

प्रतिक्रिया दिनुहोस