आज :

ताजा समाचार

कालोबजारी रोक्न नागरिक नै अनुगमनकर्ता बन्नुपर्छ : आपूर्ति मन्त्री भट्ट

  पुरुषोत्तम ढकाल    २५ फाल्गुन २०७६, आईतवार ०७:१५      533 Views

काठमाण्डौ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा हुने कालो बजारी नियन्त्रणका लागि सबै नागरिक अनुगमनकर्ता बन्नुपर्ने बताउनुभएको छ ।

कोरोना भाइरसका कारण बजारमा अत्यावश्यक वस्तुहरुको अभाव सिर्जना हुने भन्ने हल्ला चलाएर कालोबजारी गर्नेहरुको जानकारी सरकारलाई उपलब्ध गराउन मन्त्री लेखराज भट्टले आग्रह गर्नुभयो ।

हिजो काठमाण्डौमा आयोजित साक्षत्कारमा बोल्दै मन्त्री भट्टले खाना पकाउने ग्यास, पोट्रोलियम पदार्थ, नुन र चिनी लगायतका अत्यावश्यक वस्तु बजारमा प्रयाप्त रहेको र कसैले लुकाएर कालो बजारी गरेको पाइए मन्त्रालयमा फोन गर्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भारतले नेपालका लागि आवश्यक पर्ने औषधि सहज उपलब्ध गराउने जनाइसकेकोले कुनैपनि औषधिको अभाव नहुने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बजारमा कुनैपनि वस्तुको अभाव नरहेको बताउनुभयो ।

अत्यावश्यक सामग्रीहरु बजारमा प्रशस्त रहेको भन्दै अग्रवालले कालोबजारीलाई सघाउ पुग्नेगरी हल्ला नगर्न आग्रह गर्नुभयो । उपभोक्ताकर्मी प्रेमलाल महर्जनले कालोबजारी भइरहेका बेला सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाउन नसकेको आरोप लगाउनुभयो ।

उहाँले यस्तो बेला कालोबजारी गर्नेमाथि अनुगमन बढाएर सरकारले उचित कारबाही गर्नुपर्ने बताउनुभयो । कोरोना भाइरसका कारण बजारमा मास्क र पञ्जा लगायतका वस्तुहरुको अभाव भएको छ । त्यस्तै, भारतले औषधि निर्यात नगर्ने बताएसँगै अत्यावश्यक औषधिको समेत अभाव हुने हल्ला चलेको छ ।


प्रतिक्रिया दिनुहोस