आज :

ताजा समाचार

कोरोना फैलिन नदिन रुपन्देहीको सीमा क्षेत्रमा सर्तकता

  पुरुषोत्तम ढकाल    १७ माघ २०७६, शुक्रबार ०७:२९      1307 Views

रुपन्देही : कोरोना भाइरस फैलिन नदिन नेपाल भारतको सीमा क्षेत्र बेलहीयामा सतर्कता बढाइएको छ । स्थल नाका हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने रुपन्देहीको सिमानाका बेलहीयामा चेकजाँच शुरु गरिएको छ । सिद्धार्थनगर नगरपालिका कार्यालयको व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, भीम अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा सुरक्षा निकायको समन्वयमा हेल्थ डेस्क सञ्चालनमा आएको हो ।

चीनबाट फैलिएको कोरोना भाइरसको जोखिममा नेपाल पनि रहेकाले विभिन्न देशका पर्यटकलाई लक्षित गरी विहिबार बेलहियामा हेल्थ डेस्क राखेर सतर्कता बढाइएको अध्यागमन कार्यालय भैरहवाका प्रमुख गिरीराज खनालले जानकारी दिए । अध्यागमन कार्यालयमा विभिन्न देशबाट आउने पर्यटक र टुर गाइडलाई प्रवेशआज्ञा दिनु अगावै हेल्थ डेस्कमा परामर्शको लागि पठाउने गरेको उनले बताए । भारतले पनि आफ्नो देशमा आउने विभिन्न पर्यटकलाई लक्षित गरी हेल्थ डेस्क स्थापना गरेको छ । बेलहिया–सुनौली नाका भएर दैनिक सयौंको सङ्ख्यामा पर्यटक आवागमन हुने भएकाले यस क्षेत्रमा सर्तकता बढाइएको हो ।

अध्यागमन कार्यालय नजिकै राखिएको हेल्थ डेस्कमा सर्वप्रथम प्रवेआज्ञाको लागि आउने विदेशी पर्यटकलाई परामर्शको लागि पठाउने गरिएको छ । क्याम्पमा रहेका स्वास्थ्यकर्मीको परामर्शपछि शङ्कास्पद पर्यटकलाई नजिकैको अस्पतालमा थप चेकजाँचको लागि पठाउने व्यवस्था गरिएको छ । यसरी परामर्शका लागि आएका पर्यटकमध्ये शङ्कास्पद र असल समस्या भएको व्यक्तिको पहिचान गरी भैरहवाको भीम अस्पताल अथवा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा पठाउने ब्यवस्था भएको अनमि गङ्गा कँडेलले बताइन्।


प्रतिक्रिया दिनुहोस