आज :

ताजा समाचार

अब बिदेश नताक्न युवाहरुलाई मन्त्री बिष्टको आव्हान

  खुल्ला पोस्ट    १६ बैशाख २०७६, सोमबार १८:३८      376 Views

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले अध्ययनपछि बैदेशिक रोजगारीमा जाने मानसिकता त्याग्न युवाहरुलाई आव्हान गरेका छन् ।

मन्त्रालयको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागद्धारा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य दिवसको अवसरमा आइतवार आयोजित प्रभातफेरीमा बोल्दै मन्त्री विष्टले अहिले विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका विद्यार्थीहरुले बैदेशिक रोजगारी ताकी रहेको भन्दै त्यस्तो मानसिकतामा परिवर्तन गरी आफ्नै देशमा काम गर्न आवश्यक रहेको बताए ।

त्यसका लागि नेपाल सरकारले उपयुक्त वातावरण तयार पारिरहेको उनको दावी थियो । मुलुकमा नै मर्यादित रोजगारीको वातावरण तयार पार्न वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै मन्त्री विष्टले युवाहरु राष्ट्रनिर्माणको महाभियानमा जुट्नु पर्ने धारणा राखे ।

बैदेशिक रोजगार मात्र नभई स्वदेशको रोजगारीलाई पनि उत्तिकै सुरक्षित र मर्यादित बनाउन आवश्यक रहेको भन्दै मन्त्री विष्टले कानूनको प्रभावकारी ढंगले कार्यान्वयन गरी कामदारको अधिकार सुरक्षित गर्ने दावी गरे ।

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी) का अध्यक्ष विनोद श्रेष्ठले कामदारको कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउनु पर्ने भन्दै नेपालका प्रतिष्ठित उद्योग प्रतिष्ठानहरुमा पनि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको स्थिति नाजुक रहेको दावी गरे । निरन्तर २० बर्ष काम गर्नुपर्ने श्रमिकको सुरक्षा तथा स्वास्थ्यको स्थिति नाजुक रहेको कारण १० बर्षमा नै रोगी भएर खाली हात रोजगारी छोड्नुपर्ने भन्दै श्रेष्ठले श्रम अडिटलाई प्रभावकारी रुपमा लागु गर्न माग समेत गरे । (देशको न्युज)


प्रतिक्रिया दिनुहोस