काभ्रेपलाञ्चोक: जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकको भवन शिलान्यास गरिएको छ ।
बागमती प्रदेश सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री एवं माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्न ढकालले जिल्ला खेलकुद विकास समितिको भवन शिलान्यास गर्नुभएको हो ।
बनेपा नगरपालिका वडा नम्बर ६ बुडोललमा भवन निर्माण थालिएको छ । यो वर्ष १ करोड बराबरको काम हुने जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्ष मानबीर वाईबाले जानकारी दिनुभयो । यो बहुबर्षिय योजना भएकाले यो वर्ष भवन निर्माणको मात्रै काम हुने उहाले बताउनुभयो ।
भवन शिन्यालय गर्दै पूर्वमन्त्री ढकालले तोकिएको समयमा गुणस्तरीय काम गर्न निर्माण पक्षलाई आग्रह गर्नुभयो । ‘भवन निर्माणपछि काभ्रेली खेलकुदको क्षेत्रलाई अझ संस्थागत गर्दै लैजान मद्दत पुग्नेछ । खेलाडी र खेल क्षेत्रलाई हौसला पनि प्रदान गर्नेछ । भवन तोकिएको समयमा सम्पन्न होस् । गुणस्तरीय सामग्रीको प्रयोग होस् ।’ ढकालले भन्नुभयो ।
अहिले जिल्ला खेलकुद विकास समितिले भाडाको घरमा बस्दै आएको छ । जिल्ला खेलकुद विकास समितिको भवन निर्माण सुरु हुनुले काभ्रेली खेलकुदको क्षेत्रमा नयाँ आयाम थपिएको अध्यक्ष वाईबाले बताउनुभयो ।
भवन शिलान्यास कार्यक्रममा बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिब सुर्यलाल भण्डारी, बनेपा वडा नम्बर ६ का अध्यक्ष सचितानन्द केसी, युवा नेता भेषराज शाह लगायत खेल क्षेत्रमा आबद्ध ब्यक्तिहरु सहभागि हुनुभएको थियो ।