काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका १ निगालेडाँडामा आज दिउँसो बलेरो दुर्घटना भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन्।
पूर्ब एमाले सांसद नविना लामा, संविधानसभा सदस्य रामहरी सुवेदी, बाग्मती प्रदेश उपसचिव भक्तकुमारी लामालगायतका एमाले नेता चढेको जीप दुर्घटना भएको हो ।
खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा आयोजित चियापान कार्यक्रममा सहभागी भएर फर्किएका एमाले नेताहरु सवार १४ च ७०७७ नम्बरको डबल क्याप बलेरो ब्रेक फेल भइ सडकमा पल्टदा ११ जना घाइते भएका हुन् ।
घाइतेहरुलाई उद्धार गरी तत्काल उपचारको लागि धुलिखेल अस्पताल पठाइएको काभ्रे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बलेरोमा १८ जना सवार रहेका थिए ।
गाडीमा सबार १८ मध्ये घाइते ११ जनालाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।