आज :

ताजा समाचार

कवि आत्मराम न्यौपानेको देशभक्ति कविता: मुटुमा सचित्र ७१४

  पुरुषोत्तम ढकाल    १९ आश्विन २०८०, शुक्रबार ०७:३८      178 Views

मुटुमा सचित्र ७१४

सौदामिनीको पुर हो हिमाल
मन्दाकिनीको घर यो विशाल
रोपेर खानू बरु एक मानु
यो देश छोडेर कतै नजानू ।१

पाखाहरू आमय मुक्त हुन्छन्
भित्ताहरू औषधियुक्त हुन्छन्
छाएर बस्नू बरु एक छानु
नेपाल छोडेर कतै नजानू ।२

पुर्खाहरूको पसिना झरेको
हो ठाउँ यो दु:ख निकै गरेको
त्यस्तै कुनै दु:ख गरेर खानू
यो देश छोडेर कतै नजानू ।३

यो भूधरामा नव कर्म गर्नू
वा मृत्तिकामै बिउ अन्न छर्नू
बाँच्नू यहीँ के छ मरेर लानु
नेपाल छोडेर कतै नजानू ।४

मातापिता छन् अनि साथसङ्गी
छन् चाहना झन् अझ सप्तरङ्गी
ती चाहना अन्त कतै नलानू
यो देश छोडेर कतै नजानू।५

छन् राष्ट्र ठूला तिनमा गएर
खाऊ नयाँ जागिर एकफेर
भन्लान् कसैले तर बाबु-नानु
त्यागेर नेपाल कतै नजानू।६

होलान् त्यता सुन्दर दिव्य गाउँ
होलान् त्यहाँ भव्य विशाल ठाउँ
सोचाइ हो, देश हुँदैन सानु
यो देश छोडेर कतै नजानू।७

हिमाल जाँदैन यतै रहन्छ
पहाड जाँदैन यतै रहन्छ
भन्दै तिमी सुत्त हिँडे विदेश
यी वस्तुको इज्जत के रहन्छ !८

लेख्दै छु साथी इतिहास हेरी
भन्दै छु यो अन्तिममा म फेरि
नेपालमै फिर्नु अवश्य पर्छ
फिर्दै नफिर्नु ननिको ठहर्छ ।९

खोज्दै सुशिक्षा कि त रोजगार
राखेर इच्छा मनमा हजार
जानै परे फर्किनु पर्छ मित्र
यो देश राखी मुटुमा सचित्र ।१०


प्रतिक्रिया दिनुहोस