आज :

ताजा समाचार

नेपालमा जिराखेतीको सम्भावना भिडियो सहित हेर्नुहोस्

  पुरुषोत्तम ढकाल    २० भाद्र २०८०, बुधबार १८:१२      506 Views

 

भक्तपुर: नेपालमा जिराखेती सम्भावना भए पनि यसलाई अहिलेसम्म नेपाली कृषक र नेपाल सरकारले प्राथमिकतामा राख्न सकेको छैन । परिणामस्वरूप आज वर्षेनि डेढ अर्बभन्दा धेरै मूल्यको जिरा भारतलगायतका अन्य तेस्रो मुलुकबाट नेपाल ल्याउनुपरिरहेको छ।अहिले नेपाली बजारमा प्रतिकेजी जिराको १३ सय रुपियाँभन्दा धेरै पर्छ। र यसको आयात ४ वर्षयता दोब्बरले वृद्धि भएको तथ्यांकले देखाउँछ।

हरेकजसो भान्सामा जिरा अनिवार्यझैं छ। कुनै न कुनै तरिकाले हामी यसको प्रयोग दैनिकरूपमा गरिरहेका हुन्छौं। तर, पनि नेपालमा यसको व्यावसायिक खेती गर्नतिर कसैले पनि खासै चासो राखेको देखिँदैन। राष्ट्रिय मसलाबाली विकास कार्यक्रमले अनुसन्धान गरेअनुसार नेपालमा जिराखेतीको राम्रो सम्भावना छ। नुवाकोट, सिन्धुपाल्चोक, नवलपरासी, काभे्र, मकवानपुर, दोलखा, सल्यान, रुकुम, मोरङ, कैलाली, कास्की, पाल्पालगायतका जिल्लाहरूमा यसको राम्रो उत्पादन गर्न सकिन्छ। यसमध्ये नुवाकोट, सल्यान, रुकुम र दोलखामा प्रतिरोपनी १० केजीसम्म जिरा फलेको पाइएको छ। यो न्यूनतम उत्पादन हो।

त्यस्तै दाङ, नवलपरासी, मकवानपुर, मोरङ, कास्की, पाल्पा र सिन्धुपाल्चोकमा प्रतिरोपनी १५ केजीसम्म जिराको उत्पादन भएको अनुसन्धानबाट देखिएको छ। यसै गरी काभ्रे र नुवाकोटकै केही भेगमा भने यसको प्रतिरोपनी १५ केजीभन्दा धेरै उत्पादन भएको देखिन्छ। यसमा व्यावसायिकता अपनाउन सक्ने हो भने प्रतिहेक्टर ६ सय केजीसम्म जिरा फलाउन सकिने अनुसन्धान बताउँछ। यति धेरै सम्भावना भएर पनि जिराखेतीलाई व्यवसायिकरूपमा गर्न सकिएको छैन। यद्यपि केही कृषकले भने आफ्नो घरायसी प्रयोगका लागि मात्र भए पनि करेसाबारी र घरको वरिपरि यसको खेती गर्ने गरिएको पाइन्छ ।

जिराखेतीको विश्व इतिहास केलाउने हो भने यसको उत्पति इजिप्टको मिश्रमा भएको पाइन्छ। त्यहाँबाट शुरु भएको जिराखेतीले विश्वका प्रमुख व्यापारिक राष्ट्रहरू इरान, इराक, साउदी अरब, चीन, भारत, इन्डोनेसियालगायतमा आफ्नो स्थान बलियो बनाएको छ। यी देशहरूमा यसको उत्पादन ठूलो मात्रामा हुने गरेको छ। यो अलि सुख्खा ठाउँ र उष्ण तथा समउष्ण हावापानी भएका भेगहरूमा उत्पादन गर्न सकिने मसलेबाली हो।

नेपालमा जिराको खेती जात र ठाउँअनुसार फरक–फरक तरिकाले गर्न सकिने अध्ययनले देखाएको छ । नेपालका लागि सिफारिस गरिएका जिराको जातमध्ये आरजेड–१९, आरजेड–२०९, जीसी –१, जीसी–२ लगायत मुख्य छन्। यसले खेती गरिएको करिब ४ महिनामा उत्पादन दिइसक्छ । जिरा एक वर्षीय बाली हो। नेपालको माटोअनुसार प्रतिरोपनी १ केजी बीउ लगाएर खेती गर्ने हो भने यसले राम्रो उत्पादन दिने विज्ञहरू बताउँछन्। बीउ रोपिसकेपछि माटोको चिस्यानको अवस्था हेरेर नउम्रेसम्म नियमित पानी हालिरहनुपर्छ। २ हप्ता जति समयमा जिरा उम्रिसक्छ। यसको खेती गरिएको जग्गामा नियमितरूपमा गोडमेल गर्नुपर्छ र करिब १ हप्तामा सिँचाइ गर्नु आवश्यक छ।

जिराको उपयोग मानव जीवनका लागि धेरै नै छ। यसलाई घरेलु औषधीय वस्तुको रूपमा पनि प्रयोग गर्न सकिन्छ। मसलाका लागि त यो राजा नै हो। यसको पातहरूको अचारका लागि प्रयोग गरिने त छँदै छ यसका अतिरिक्त रुघाखोकी, घाँटी दुखेको र आन्द्रा सुन्निएको अवस्थामा पनि जिराको प्रयोग गर्न सकिन्छ। राष्ट्रिय मसलाबाली विकास कार्यक्रमले पछिल्ला केही वर्षयता देशका केही जिल्लाहरूमा परीक्षणको रूपमा जिराखेती गरिरहेको छ। तर, यो नेपालको सम्भाव्यताका आधारमा ज्यादै न्यून उत्पादन हो। जिराखेतीतर्फ कृषकलाई अभिप्रेरित गराउने हो भने आगामि दिनहरूमा यसले नेपाली कृषकको आयस्रोत मात्र बढाउँदैन, जिरा खरिदकै लागि बाहिर पठाउने अर्बौं रुपियाँको स्वदेशमै वचत पनि गर्छ।

जिराखेतीको सम्भावना भिडियो सहित हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस