काभ्रे: बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ बहादुर लामाले सबै नागरिक स्वच्छ खानेपानीको पहुँचमा हुनु पर्ने बताउनु भएको छ ।
शनिबार बेथानचोक गाउँपालिकाको वडा नं. ६ भुग्देउमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र बेथानचोक गाउँपालिकाको साझेदारीमा निर्मित वृहत एक घर एक धारा आयोजना अन्तर्गत महांकालचौर खानेपानी तथा सरसफाई एवं थिङछाप खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री लामाले नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी मौलिक हकको रुपमा खानेपानी अधिकारलाई प्रत्याभूत गरेकोले जनतालाई निरन्तर, पर्याप्त, स्वच्छ र गुणस्तरीय खानेपानी पु¥याउने कुराको सुनिश्चता गर्न संघ, प्रदेश र स्थानीयतह जिम्मेवार हुनु पर्ने बताउनु भएको छ । यही जिम्मेवारीलाई आत्मसात गर्दै जनताले आफूहरुलाई काम गर्न पठाएकोले प्रत्येक भोटलाई जनादेश सम्झिएर कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
खानेपानी तथा सरसफाइ सम्बन्धि नीति अनुरुप पानीको अधिकारलाई प्रभावकारी रुपमा सम्पन्न गर्न खानेपानीका संरचना एक पटक बनाएर मात्र नहुने भन्दै उहाँले दीर्घकालिन योजना बनाएर अघि बढ्न समुदायलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “स्वच्छ र गुणस्तरीय खानेपानीका लागि म तपाईहरुसँगै हुनेछु ।” आफूले बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयको जिम्मवारी संहालेसँगै काभ्रेमा सिंचाई, खानेपानी, बाटो लगायत पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको स्मरण गर्दै उहाँले जनताको सेवा गर्न अनुमोदन गरिदिनुहुने मतदाताहरुलाई धन्यवाद दिनुभयो । उहाँले खानेपानीसँग सम्बन्ध राख्ने नीति, यसका योजना तथा कार्यक्रमको तर्जुमा, सुक्ष्म कार्यान्वयन, अनुगमन, नियमन र मूल्यांकन, स्वच्छता सम्बन्धी अवधारणा समेत खानेपानी र सरसफाइको अभिन्न अंग भएकोले जिम्मेवार ढंगले लागि पर्न गाउँपालिकालाई आग्रहसमेत गर्नुभयो ।
कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले खानेपानी क्षेत्रमा राष्ट्रिय नीतिका रूपमा अघि सारिएकोे ‘एक घर एक धारा नीति’ नारा अनुसार काम गर्न गाउँपालिका प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमले समुदायलाई समृद्धितिर लैजाने निश्चित भएकोले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, खानेपानी, कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गरेको बताउनुभयो । विकास भनेको बाटो मात्र होइन भन्दै उहाँले हासिल उपलब्धीको दिगोपना सुनिश्चितता, पूर्ण सरसफाइ अवस्थाको श्रृजना जस्ता जनजीविकाका सवालहरुलाई पनि न्यायोचित सम्वोधन गर्ने तर्फ प्रयाश गर्नु आवश्यक रहेको छ । स्वस्थ आनीबानी व्यवहारमा लागू गर्न लगानी आवश्यक रहेको बताउनुभयो । अध्यक्ष अधिकारीले साझेदार संस्था नेवालाई समयमै आयोजना सम्पन्न गरेकोमा धन्यवाद दिनुभयो । बेथानचोक गाउँपालिका वडा नं. ६ का अध्यक्ष विष्णु तामाङले स्वागत मन्तव्य राख्दै आयोजनाका लागि क्रियाशील सबैलाई धन्यवाद दिनुभयो ।
गाउँपालिका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले आफू अध्यक्ष हुँदा देखेको सपना र शुभारम्भ गरिएका अभियानले मुर्तरुप पाएकोमा प्रशन्नता व्यक्त गर्दै बेथानचोकमा खानेपानीका लागि समस्या छैन भन्ने सन्देश दिन सक्ने वातावरण बन्दै गएकोमा सरोकारवाला सबैको प्रशंसा गर्नुभयो ।
कार्यक्रमका सभापति समेत रहनु भएका महांकाल चौर खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष विकास लामिछाने मगरले आयोजना समयमै सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट साथ, सहयोग समर्थन गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले खानेपानी आयोजनाको दीगोपना, कुशल व्यवस्थापन र सर्वसुलभताका लागि दुवै खानेपानी आयोजनाका लागि भवन निर्माण गराई पाउँ भनी मन्त्री लामा समक्ष माग पत्र पनि प्रस्तुत गर्नुभएको थियो ।
भुग्देउमा महांकालचौर खानेपानी तथा सरसफाई उपभोक्ता समिति र थिङछाप खानेपानी तथा सरसफाई उपभोक्तासँगको साझेदारीमा सञ्चालित परियोजनाबाट भुग्देउका घर, विद्यालय, स्वास्थ्य चौकी तथा वडा कार्यालय गरि करिब ५ सय घरधुरीमा खानेपानी पुगेको छ ।
परियोजनाबाट महांकालचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट ३२० घरधुरी र ३ वटा विद्यालयबाट १ हजार ७ सय ७९ र थिङछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट १७२ घरधुरी, ३ वटा विद्यालय, १ वटा स्वास्थ्य र वडा कार्यालयबाट १ हजार २५ जना लाभान्वित भएका छन् ।
उक्त आयोजना अन्र्तगत १ करोड ७५ लाख ४७ हजार २२० रुपैंयाको कुल लागतमा दुई वटा मुहान तथा संरचना तयार भएको महांकाल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विकास लामिछाने मगरले जानकारी दिनुभयो । उहाँका अनुसार, नेवा संस्थाबाट ८१ लख ५८ हजार ३१९ रुपैंया, बेथानचोक गाउँपालिकाबाट ४९ लाख ८५ हजार ३४५ रुपैंया, जनश्रमदानबाट २२ लाख ३८ हजार ९६७ रुपैंया, र समुदाय स्तरबाट २१ लाख ६४ हजार ५८० रुपैंयाको सहयोगमा दुई वटा मुहान तथा संरचनाहरु तयार भएका हुन् ।
त्यस्तै १ करोडा ११ लाख १३ हजार ७३४ रुपैंयाको कुल लागतमा खानेपानीको मुहान संरचना तयार भएको थिङछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तिर्थ बहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार, नेवा संस्थाबाट ६६ लाख १९ हजार ३६५ रुपैंया, बेथानचोक गाउ“पालिकाबाट २१ लख ९७ हजार ६९९ रुपैंया, जनश्रमदानबाट १० लाख ७९ हजार ९५६ रुपैंया र समुदाय स्तरबाट १२ लाख १६ हजार ७१४ रुपैंयाको सहयोगमा संरचनाहरु तयार भएका छन् ।
कार्यक्रममा बेथानचोक गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष मधुसुदन तिमल्सिना, २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, ३ का अध्यक्ष कुवेर ढकाल, विभिन्न वडाका सदस्य, आयोजना क्षेत्र भित्रका विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, दुवै खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरु तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।