आज :

ताजा समाचार

काभ्रेको गहतेमा जिल्लाकै सबैभन्दा अग्लो गुरु पद्यसम्भवको प्रतिमा निर्माण

  पुरुषोत्तम ढकाल    २६ बैशाख २०८०, मंगलवार ०८:१२      281 Views

काभ्रेपलाञ्चोक:  काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ९, गहतेमा गुरु पद्मसम्भव (गुरु रिम्पोछे) को ४३ फिट अग्लो प्रतिमा निर्माण गरिएको छ । बुद्ध मुर्ति निर्माण उपभोक्ता समितिमार्फत सो स्थानमा गुरु पद्यसम्भवको सम्भवतः जिल्लामा नै अग्लो प्रतिमा निर्माण गरिएको समितिले जनाएको छ ।

विभिन्न आर्थिक बर्षमा गरी वडाबाट ५० लाख, बाग्मती प्रदेश सरकारको २५ लाख, स्थानीयको सहयोग ३० लाख र श्रमदान समेतबाट करिब १ करोड १५ लाखको अनुमानित लागतमा प्रतिमा स्थापना गरिएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर तामाङले जानकारी दिनुभयो । उहाका अनुसार, प्रतिमा निर्माण स्थलमा पर्खाल निर्माणको लागि थप २५ लाख विनियोजन भएको थियो ।

प्रतिमामा सोमबार  प्राण प्रतिष्ठान गरिएको छ । धर्म गुरु क्याब्जे खेन्टुल ग्याङखाङ रिम्पोछे, नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा र उपप्रमुख रत्नबहादुर लामाले संयुक्त रुपमा प्रतिमा अनावरण गर्नुभयो । नगर प्रमुख लामाले सो स्थानमा अन्य पूर्वाधार निर्माण समेत गर्न बाँकी रहेको भन्दै संघ, प्रदेश र स्थानीय सरकारबाट पनि बजेट बिनियोजन गर्ने बताउनुभयो । धर्मगुरु रिम्पोछेले गुरु पद्यसम्भवको प्रतिमा स्थापनाले सो क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना बढ्नुको साथै प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस