आज :

ताजा समाचार

ट्याक्टर छाडेर गोरु प्रयोगमा नै फर्कन थाले सिन्धुपाल्चोकका किसानहरू

  पुरुषोत्तम ढकाल    १२ बैशाख २०८०, मंगलवार १६:०३      64 Views

सिन्धुपाल्चोक: भौगोलिक विकटताका कारण सबै ठाउँमा ट्याक्टर लैजान झन्झटिलो हुने भएपछि आफ्ना खेतबारी जोत्नका लागि सिन्धुपाल्चोकका किसानहरूले गोरुकै प्रयोग गर्न थालेका छन् ।

गोरुप्रति किसानको आकर्षण बढ्न थालेसँगै स्थानीय सरकारले पनि ट्याक्टरको साटो गोरु नै अनुदानमा दिन थालेका हुन् ।

बाह्रबिसे नगरपालिकाले मात्र सातसय जना किसानलाई गोरु अनुदान दिएको नगरपालिकाले जनाएको छ । गोरु अनुदानसँगै गोरुको बिमा समेतको व्यवस्था गरिएको नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।

भौगोलिक अवस्थाका कारण सबै ठाउँमा ट्याक्टर लान र लैजान गाह्रो हुने मात्र हैन खेतबारी गहिरोसँग ट्याक्टरले नखन्ने र मर्मत गरिरहनु पर्ने, तेल प्रयोगका कारण महँगो हुने जस्ता समस्याका कारण आफूहरूले गोरुकै प्रयोग गर्न थालेको बाह्रबिसेका किसान हरिप्रसाद तिमल्सिना बताउनु हुन्छ । केही समय ट्याक्टरको प्रयोग गरेको र ट्याक्टर बिग्रन थालेपछि खेतबारीमा जोत्नमा नै समस्या आएको उहाँको भनाइ छ ।

राम्चेका किसान अटलबहादुर तामाङले भने ट्याक्टरको प्रयोग गर्दा उब्जनी नै कम भएको अनुभव सुनाउनु हुन्छ । गोरुले जोते जस्तै ट्याक्टरले राम्रो नजोत्ने हुँदा उब्जनी नै कम भएको उहाँको अनुभव छ । ट्याक्टर प्रयोग गर्न थालेपछि प्राङ्गारिक मलको पनि अभाव हुने भएकोले फेरि गोरुको प्रयोग गर्न थालेको उहाँ बताउनु हुन्छ ।

पहाडी जिल्ला सिन्धुपाल्चोकमा खेतबारीमा ट्याक्टर ढुवानी गर्न समस्या त छँदै छ । त्यसमाथि बिग्रिरहने र उब्जनी पनि कम हुने भएपछि ट्याक्टर प्रयोग गरिरहेका किसानहरू पनि पुन गोरु प्रयोगमा फर्कने क्रम बढ्दो छ

स्थानीय तहले पनि गोरु प्रयोग गर्ने किसानहरूलाई प्रोत्साहित गर्न अनुदानमा गोरुसँगै गोरु र हली दुवैको बिमा गरिदिएपछि किसानहरू भने उत्साहित भएका छन् ।


प्रतिक्रिया दिनुहोस