आज :

ताजा समाचार

अरनिको राजमार्ग अन्तर्गत साँगा-धुलिखेल सडक खण्ड विस्तार कार्य सुरु

  पुरुषोत्तम ढकाल    ३० फाल्गुन २०७९, मंगलवार १७:५५      188 Views

काभ्रेपलाञ्चोक: अरनिको राजामार्ग विस्तार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगादेखि धुलिखेल सडकखण्ड विस्तारको काम सुरु भएको छ। करिब एक दशकदेखि नेपाल सरकारको प्राथमिकतामा परेर पनि विस्तार हुन नसकेको सूर्यविनायक–धुलिखेल सडक खण्ड अन्तर्गतको १६ किलोमिटर सडक खण्ड चालु आर्थिक वर्षबाट विस्तारको काम सुरु गरिएको हो।

नेपाल सरकारको आफ्नै लगानीमा निर्माण सुरु भएको सूर्यविनायक–धुलिखेल सडक खण्ड विस्तारको काम सूर्यविनायकदेखि साँगा र साँगादेखि धुलिखेलसम्म गरी दुई चरणमा हुनेछ। सूर्यविनायक–धुलिखेल–बनेपा–सिन्धुली–बर्दिबास सडक योजना कार्यालय काभ्रेपलाञ्चोकले अरनिको राजमार्गको साँगादेखि धुलिखेल सडक खण्डको काम सुरु भएको जनाएको छ। विस्तार सुरु गरिएको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ७५ फिट अर्थात् २५ गत (२२.६८ मिटर) को निर्माण हुने योजना प्रमुख राजेन्द्रप्रसाद दासले जानकारी दिनुभयो। आयोजना अन्तर्गत विस्तार हुनेछ। सडकमा चार लेनमा सवारी आवतजावत र दुई लेन सर्भिस लेन रहने बताउनुभयो। उहाँले भौगोलिक बनावट अनुसार सडकका संरचना निर्माण हुने बताउनुभयो। उहाँले बनेपाको पुण्यमाता खोला पुलमा सडकको उचाइ बढाएर सडक विस्तार गरिने बताउनुभयो। साँगादेखि धुलिखेलसम्मको सडक विस्तार अन्तर्गत विस्तार हुने ७५ फिटको सीमाभित्रको सडकमा पर्खाल लगाउने काम सुरु भएको छ।

योजना प्रमुख दासले साँगादेखि धुलिखेलसम्म २३ स्थानमा नालीको पानी निकास गरिने, पाँच स्थानमा बस स्टप बनाइने बताउँदै साँगादेखि धुलिखेलसम्म ७५ फिटभित्र छ वटा घर, ४२ कुवा, नौ वटा धारा, एउटा ढुङ्गे धारा, दुई वटा पानी ट्याङ्की, पाँच वटा मन्दिर र धुलिखेलमा एउटा पेट्रोल पम्प, हाइटेन्सन पोल सानुपर्ने आयोजनाले जनाएको छ।

साँगादेखि धु्लिखेलसम्मको ८ दशमवल ५ किलोमिटर सडक निर्माणको लागि लामा कन्ट्रक्सनसँग भ्याटसहित चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का सम्झौता भएर काम सुरु गरेको हो। सडक विस्तार गर्ने क्रममा काभ्रेपलाञ्चोकतर्फ २५६ वटा रुख कटान गर्नुपर्ने आयोजनाले जनाएको छ।

यसैबीच अरनिको राजमार्ग अन्र्तगत सूर्यविनायकदेखि साँगासम्मको ७ दशमलव ५ किलोमिटर सडक सडक विस्तारको लागि आशिष कुमार श्रेष्ठ÷बन्धन÷भगवती जेभीसँग भ्याटसहित तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँमा ठेक्का सम्झौता भएको छ। सूर्यविनायकदेखि साँगासम्मको सडक विस्तारको ठेक्का डेढ महिनापछि भएकोले उक्त सडक खण्डको काम केही समयमा सुरु हुने योजना कार्यालयले जनाएको छ।

योजना कार्यायलकी सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापति श्रेष्ठले सूर्यविनायकदेखि साँगा आउने करिब डेढ किलोमिटर सडक भौगोलिक कारणले गर्दा चार लेनको मात्रै सडक निर्माण हुने र सर्भिस लेन निर्माण नहुने बताउनुभयो।

भौगोलिक कारणले गर्दा सर्भिस लेन नबन्ने करिब डेढ किलोमिटर सडकलाई ग्रेड सेप्रेशन गरेर साँगाबाट सूर्यविनायक जाने सडक करिब तीन मिटर अग्लो र सूर्यविनायकबाट साँगातर्फ आउने सडक तीन मिटर होचो बनाइनेछ।

उहाँले सूर्यविनायकदेखि साँगासम्मको सडक विस्तारका लागि भक्तपुरतर्फ ५०५ वटा रुख कटान गर्नुपर्ने बताउनुभयो। उहाँले सूर्यविनायकदेखि धुलिखेलसम्म जगाती खोला पुल, महादेवखोला पुल र पुण्यमाता खोलामा पुल निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले तीन वटा पुल निर्माणका लागि छुट्टै बोलपत्र आह्वान गरिने बताउनुभयो।


प्रतिक्रिया दिनुहोस