आज :

ताजा समाचार

काभ्रेमा रासायनिक मल अभाव हुँदा कृषकहरु हैरानी ब्यहोरदै

  पुरुषोत्तम ढकाल    १३ पुष २०७८, मंगलवार १९:१३      106 Views

काभ्रे: काभ्रे जिल्लामा रासायनिक मल अभाव हुदाँ आलु लगाउने मध्य सिजनमा कृषकहरुले हैरानी ब्यहोरेका छन् । सरकारले चाहे जति मल आपुर्ति नगरेका कारण कृषकहरु मध्य सिजनमा मल विना नै खेति लगाउन बाध्य भएका हुन् । यतिखेर जिल्लाको धेरै उत्पादन हुने पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा, बेथान्चोक लगायतका क्षेत्रमा मलको अभाव हुँदा कृषकहरु विना मल खेति गर्न बाध्य भएका हुन् ।

जिल्लामा कृषि सामाग्री संस्थान र साल्ट ट्रेडिङ्ग कर्पाेरेसन प्रालीले मल विक्री गर्दै आएका छन् । कृषि सामाग्री संस्थान धुलिखेलले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखाका ३ सय ३८ सहकारी मार्फत मल विक्री गर्दै आएको संस्थानका शाखा प्रमुख बासुदेव शर्माले जानकारी दिनुभयो ।

जिल्लामा कृषकले माग गरेको २५ प्रतिशत मल पनि उपलब्ध नभए पछि अहिले कृषकहरु मल विना खेति गर्न बाध्य भएका छन् । कृषि सामाग्री संस्थानले प्राप्त मललाई पाँचखाल र मण्डनदेउपुर क्षेत्रका सहकारी मार्फत तत्काल खेति गर्नु पर्ने भएकाले आवश्यकताका आधारमा समानुपातिक वितरण गरेको छ ।

मल अभाव भए पछि दोलखा र रामेछाप जिल्लाका सहकारीहरुले मसिंर महिनासम्म मल लगेका छैनन । सरकारले यो वर्ष चीनको नाका सिन्धुपाल्चोकको तातोपानीबाट ७ सय मेट्रिक टन भित्र्याएको थियो । २ हजार टन त्यहि नाकाबाट युरिया मल ल्याउने सम्झौता भए पनि ब्यवसायीले कार्तिक २३ गतेबाट मल आयात गर्नै सकेनन ।

त्यहि नाकाबाट काभ्रेपलाञ्चोक, त्रिशुली र काठमाडौ सहित तराईका केहि जिल्लामा समेत मल निर्यात गर्ने सम्झौता भएको थियो । बनेपामा रहेको साल्ट ट्रेडिङ्ग कर्पाेरेसनले चालु वर्षको मसिंर मसान्तमा ६ हजार ३० केजी युरिया विक्री गरेको छ । मागको ३० प्रतिशत मात्रै मल प्राप्त भएको शाखाका निमित्त प्रमुख सुरेन्द्र अवालेले बताउनु भयो । ३ सय १८ वटा डिलर सहकारीले दैनिक मलका लागि ताकेता गरेको भए पनि प्रति सहकारी १० बोरा मल दोहोरो नपर्ने गरी उपलब्ध गराउन कठिनाई भएको अवालेले बताउनु भयो ।

त्यस्तै पनौती नगरपालिका वडा नम्वर २ पाटिखोरिया कृषि सहकारीका सन्तोष हुमागाईले सहकारीमा आवद्ध कृषकहरुका लागि यो सिजनमा ५ सय बोरा युरिया र ३ सय बोरा डिएपी आवश्यक भए पनि उपलब्ध हुन नसकेको बताउनु भयो । सरकारले कृषकहरुका लागि पर्याप्त मल उपलब्ध गराउन नसक्दा खेति गर्न नपाएको हुमागाईले बताउनु भयो। पञ्चकन्या महिला बहुद्दश्यीय सहकारी संस्था मण्डनदेउपुरका प्रतिनिधि नवराज लम्सालले कृषकहरुले आवश्यकता अनुसार मल प्राप्त नगरेका कारण खेति गर्न समस्या भएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस