आज :

ताजा समाचार

कांग्रेस महामन्त्री थापाद्वारा अभिभावकविहीन बालबालिकाहरु लाई भरोसा छात्रवृत्ति अभियान सुरु

  पुरुषोत्तम ढकाल    १२ पुष २०७८, सोमबार १८:४१      72 Views

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘भरोसा छात्रवृत्ति अभियान’को शुभारम्भ गरेका छन् ।

आज (सोमबार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी महामन्त्री थापाले छात्रवृत्ति अभियान सुरु गरेका हुन् । कार्यक्रममा बोल्दै उनले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताए ।

कोरोनाका कारण बुबाआमा गुमाएका बालबालिकाहरुको शिक्षामा कुनै बाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान सुरु गरेको उनले बताए । बालबालिकामा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र उचित शिक्षा दिनका लागि अभियानले काम गर्ने महामन्त्री थापाले बताए ।

‘आफ्नो परिवारमा जसले कमाउने मान्छे गुमाएको छ, त्यसको घरमा अरु पनि थुप्रै समस्या हुन्छ । बा–आमासँग मात्रै होइन, समाजसँग पनि घुलमिल हुनुपर्छ,’ महामन्त्री थापाले भने, ‘यस्तो कुरा एकदमै धेरै मान्छेहरुलाई परेको छ । जसलाई परेको छ, त्यसलाई थाहा हुन्छ ।’

कोरोनाको कारण आमाबुबा गुमाएका वा अभिभावकविहीन बालबालिकाको अध्ययन नरोकियोस् भनेर पवित्र मनबाट अभियान सुरु गरेको उनले बताए । ‘समाजप्रति भरोसा ल्याउनको निम्ति यो अभियान सुरु गरिएको हो । पारदर्शी तरिकाबाट साथीहरुले चलाउनुहुनेछ,’ उनले थपे,  ‘नेपालीहरुले आफैँ मिलेर पनि यस्तो अभियान चलाउन सक्छौँ भन्ने कुरा देखाउने पनि हो ।’

भरोसा छात्रवृत्ति अभियान ७ वटै प्रदेशका २–२ वटा जिल्लामा सुुरु हुनेछ । उक्त जिल्लाहरुमा कोरोनाको कारण आमाबुबा गुमाएका विद्यार्थीहरुको शिक्षाका लागि सहयोग गर्ने र आवश्यकतााका आधारमा डिसहोमको नेटवर्कबाट छात्रवृत्ति रकम उपलब्ध गराउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस