आज :

ताजा समाचार

कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक, मंसिर ३ गतेदेखि अधिवेशन शुरु हुने

  पुरुषोत्तम ढकाल    १० कार्तिक २०७८, बुधबार २०:२१      479 Views

काठमाडौं: नेपाली कांग्रेसको १४ औं महाधिवेशनको नयाँ कार्यतालिका लामो रस्साकस्सी पछि आज सार्वजनिक भएको छ । आज (बुधबार) बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि २९ गते केन्द्रीय महाधिवेशन गर्ने गरी नयाँ मिति तोकेको हो ।

कांग्रेस निर्वाचन समितिका अनुसार विवाद भएर रोकिएका १३ जिल्लाको वडा अधिवेशन यही कार्तिक २७ गते हुने भएको छ । समितिका अनुसार कार्तिक ३० गते ती जिल्लाको पालिका अधिवेशन हुनेछ ।

क्रियाशीलता विववाद भएका सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन ।

यीमध्ये रसुवा, बारा र रौतहटको क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन । यसअघि नै ६४ जिल्लामा कांग्रेसको वडा र गाँँउ नगर अधिवेशन सकिसकेको छ ।

समितिका अनुसार सबै जिल्लामा मंसिर ३ गते प्रदेश अधिवेशन हुनेछ । त्यस्तै मंसिर ६ गते संघीय निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने कार्यतालिका सार्वजनिक भएको छ ।

मंगलबार पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले बुधबार नयाँ कार्यतालिका ल्याएको हो । प्रधानमन्त्री देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको हो ।

यसअघि कांंग्रेसले तीन पटक महाधिवेशन सारेको थियो । ​कांग्रेसले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण भदौ ७ देखि १० सम्मका लागि महाधिवेशन सारियो । तर, क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई कारण देखाएर फेरि भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भएको थियो ।

क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसकेपछि मंसिर ९ देखि १३ सम्म सारिएको थियो । उक्त मितिमा पनि महाधिवेशन हुन नसकेपछि कांग्रेसले मंसिर २७ देखि २९ गतेका लागि सारेको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस