आज :

ताजा समाचार

गोकुल बास्कोटाको गृह जिल्ला काभ्रे पुगेर प्रचन्डले सुनाए ७० करोड भ्रष्टाचारको काण्ड

  पुरुषोत्तम ढकाल    ७ आश्विन २०७८, बिहीबार १९:२९      148 Views

काभ्रे: काभ्रे जिल्लाको पाँचखालमा आज (बिहीबार) आयोजित वाईसीएल भेला कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए पनि केपी ओलीले जोगाएको दाबी गरेका छन्।

वाईसीएल भेला कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, ‘तपाईंहरू, काभ्रे जिल्लामा ७० करोडको कथा त सुन्नुभएकै छ।
७० करोडवाला कुरा प्रमाणित रुपले आयो।’ उनले एउटा कार्यकर्ता भेलामा केपी र आफू सँगै रहेको प्रसंग उल्लेख गर्दैै भने, ‘मैले यस्ता बेथिति र विकृतिहरुलाई त रोक्नपर्छ भनेर बोलें। उनले चाहिँ हैन उसको (गोकुल बाँस्कोटाको) गल्ती नै छैन, अर्काले षड्यन्त्र गरेको हो भनेर बचाए।’

त्यस्तै जहाज ल्याउने कुरा, त्यसैमा भ्रष्टाचार, ओम्नी तपाईंहरुले सुन्नुभएको छ। ७० करोड तपाईंहरु नै भुक्तभोगी हुनुहुन्छ। देखिराख्नुभएको छ।’ सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड भ्रष्टाचार गरेको आरोप लागेपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए। काभ्रे बाँस्कोटाको गृह जिल्ला हो।

ओलीले आफ्नो कार्यकालमा ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भनेर सुन्दा निकै राम्रो अभिव्यक्ति दिए पनि सधैं भ्रष्टाचारलाई ढाकछोप गर्ने गरेको भनाइ दाहालको थियो। आफूले दुई दुई पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा भ्रष्टाचार शब्द पनि कसैले उच्चारण गर्न नसकेको दाबी गर्दै दाहालले ओलीको कार्यकालमा भ्रष्टाचारबाहेक केही नभएको बताए।

उनले भने, ‘सुरुदेखि भ्रष्टाचार, कोभिड–१९ भयो– जनता आतंकबाट प्रताडित भए। मान्छे मर्न थाले, भ्याक्सिन चाहियो। अरु स्वास्थ्य सामग्री चाहियो। त्यसैमा भ्रष्टाचार। जहाज ल्याउने कुरा, त्यसैमा भ्रष्टाचार, यती तपाईंहरुले सुन्नुभएको छ। ओम्नी तपाईंहरुले सुन्नुभएको छ। ७० करोड तपाईंहरु नै भुक्तभोगी हुनुहुन्छ। देखिराख्नुभएको छ।

त्यस्तै ओली प्रवृत्तिबारे आफूले तत्कालीन नेकपामा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेको भन्दै प्रचण्डले भने, ‘ओली प्रवृत्ति विचारको हिसाबले कम्युनिस्ट होइन, माक्सवादी होइन, यो सामन्ती हिन्दू अतिवादी हो, (पशुपतिनाथमा) जलहरी चढाएको त सुन्नुभयो होला । मेरो निर्वाचन क्षेत्रमा राम सीता हनुमान राखिदिएको छ । कम्युनिस्टले यस्तो काम गर्छ त ?’

त्यस्तै आजको कार्यक्रममा सम्बोधन गर्दै ओलीले महान् नेता हुने अवसर गुमाएको पनि प्रचण्डले बताए । ‘केपीजत्ति वुद्धि नभएको नेता कोही पनि छैन । यति ठूलो अवसर उनलाई थियो, चुप लागेर एकताको बेलामा भएको समझदारी पालना गरेको भए केपी ओली नेपालको इतिहासमा महान् नेता हुने अवसर थियो,’ उनले भने ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुुँदा अध्यक्ष र प्रधानमन्त्री पद ओली र आफूबीच आधा आधा समय बाँड्ने सहमति भएको पनि प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस