आज :

ताजा समाचार

काभ्रे जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै

  पुरुषोत्तम ढकाल    २९ भाद्र २०७८, मंगलवार १९:२४      73 Views

काभ्रे : काभ्रे जिल्लाको रोशी गाउँपालिकामा कोरोना सङ्क्रमण शून्यमा झरेको छ। शनिबार दुई जना सङ्क्रमणमुक्त भएपछि सो गाउँपालिकामा कोरोना सङ्क्रमण शून्यमा झरेको हो।

चौंरीदेउराली, तेमाल र खानीखोला गाउँपालिकामा केही दिनदेखि एक, एक सङ्क्रमित रहेका छन्। शनिबार सङ्क्रमणमुक्त भएको चौंरीदेउरालीमा सोमबार एक सङ्क्रमित थपिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)ले जनाएको छ।

केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो हप्ता दैनिकरुपमा कोरोना सङ्क्रमण दर घटिरहेको देखिएको छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको छ। काभ्रेका १३ स्थानीय तहमध्ये हाल एक गाउँपालिका सङ्क्रमणमुक्त देखिएको हो। केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १४ जना सङ्क्रमित देखिएका छन् भने १९ जना सङ्क्रमणमुक्त भएका छन्।

जिल्लामा हाल १८२ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ५१, धुलिखेलमा ३७, पाँचखालमा २५, पनौतीमा ३५, नमोबुद्धमा १५, मण्डनदेउपुरमा तीन तथा भुम्लु तीन, बेथानचोकमा आठ र महाभारत गाउँपालिकामा दुई जना रहेका छन्।

आइतबार दुई सङ्क्रमित हुँदा ३९ जना सङ्क्रमणमुक्त भएका छन्। शनिबार १७ जनामा सङ्क्रमण देखियो थियो भने १९ जना सङ्क्रमणमुक्त भएको केन्द्रले जनाएको छ।

यस्तै, जिल्लामा शुक्रबार ११ सङ्क्रमित थपिँदा ३५ जना सङ्क्रमणमुक्त भएका थिए। यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमणदर भन्दा सङ्क्रमणमुक्त हुने दर अधिक रहेको देखाएको हो।

काभ्रेमा हालसम्म १४ हजार ४१९ मा सङ्क्रमण देखिएकोमा १९२ जनाको मृत्यु भएको छ। हालसम्मका कूल सङ्क्रमितमध्ये ९७ दशमलब ४० प्रतिशत अर्थात् १४ हजार ४५ सङ्क्रमणमुक्त भइसकेका छन्। भदौ महिनामा नगन्य मात्रामा सङ्क्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्याङ्कले देखाएको छ।

जिल्ला प्रशासन कार्यालयले हाल जिल्लामा आउँदो असोज ५ गतेसम्म १० दिन ‘मिक्स लकडाउन’ थपेको छ। कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो। कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो। रासस


प्रतिक्रिया दिनुहोस