आज :

ताजा समाचार

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु

  पुरुषोत्तम ढकाल    २८ चैत्र २०७७, शनिबार १९:२६      162 Views

भक्तपुर: भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आज (शनिबार) बाट सुरु हुने भएको छ । टौमढीमा रहेको भैलखः अर्थात् भैरवनाथको रथलाई तानेसँगै भक्तपुरको बिस्का जात्रा सुरु हुने बताईएको छ।

८ रात ९ दिनसम्म सञ्चालन हुने जात्रा ५ वैशाख २०७८ सम्म चल्नेछ । प्रत्येक वर्ष नयाँ वर्ष आगमनको ४ दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको ३ तले करिब ३० फिट अग्लो भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन छ ।

रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्कोतिर ४ वटा मोटामोटा डोरी राखेर हजारौँ युवाले रथ तान्ने गर्छन् । जात्राको पहिलो दिनलाई नेपाल भाषामा द्यो क्वह विज्याइज्यू अर्थात् देवता (रथ) तल सवारी हुने भनिन्छ ।

जात्राको पहिलो दिन रथलाई नगरको तल्लो टोलतिर लगिने भएकाले त्यहाँ ६ वटा र अर्को टोलमा ४ वटा मात्रै डोरी राख्ने गरिन्छ । तर, दुवैतिर प्रतिस्पर्धात्मक रूपमा तानेर पछिल्लो वर्ष जता पनि लग्ने गरिएको छ ।

५ तले मन्दिरलाई भक्तपुर नगरको बीच भाग मानिन्छ । जात्राका लागि रथको सबै तयारी पूरा भइसकेको भैलख बनाउने नाइके प्रेमलाल शिल्पकारले बताए । केही दिनअघि जात्रा सञ्चालन गर्ने या नगर्ने भनी अन्योलमा रहेको बिस्का जात्रा आजबाट सञ्चालन गरिन लागेको हो ।

भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले कोरोना जोखिम बढेकाले यस वर्षको जात्रा छोटो रूपमा सकाउने बताएका छन् । अरू बेला पूर्वमा दत्तात्रयसम्म र पश्चिममा तेखापुखुसम्म लगिने गरेको रथ यसपालि भने पूर्वमा बुलुबुलु हिटी (सुकुलढोका) सम्म र पश्चिममा नासमनासम्म मात्र लैजाने निर्णय भएको उनले जानकारी दिए ।

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

त्यस्तै  जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेलगायत स्थानबाट सयौँ मानिस आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस