काठमाडौं: कोरोना संक्रमितको संख्या तीव्ररुपमा थपिँदै गएपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन गरिएको छ भने विद्यालय पनि बन्द गर्ने घोषणा गरिएको छ ।
राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सि शनिवारदेखि चार हप्ता लकडाउन र विद्यालय बन्दको घोषणा गरेका हुन् । राष्ट्रपति म्याक्रोनले एक टेलिभिजनमा सम्बोधन गर्दै लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताए ।
लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्ने खबर बीबीसीले लेखेको छ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन भने घरबाट १० किलोमिटरभन्दा टाढा जान पनि नपाइने खबरमा उल्लेख गरिएको छ ।
म्याक्रोले कोरोनाको सङ्क्रमण बढे पनि यसलाई नियन्त्रण गर्न सकिने भएकाले डराउनु नपर्ने बताउन भने भुलेनन् । उनले कोरोनाविरुद्धको खोपलाई तिव्रता दिने र १८ वर्षभन्दा माथिका सबै उमेर समूहलाई खोप दिने पनि तर्क गरे ।
फ्रान्समा गएको २४ घण्टामा ४१ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म फ्रान्समा ४६ लाख ४४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने ९५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।