काठमाडौं: छिमेकि देश भारतमा फेरी कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएको छ । भारतमा सक्रिय संक्रमितको संख्या २ लाख नाघिसकेको छ । अहिले सक्रिय संक्रमित २ लाख १६ हजार २ सय ९७ जना रहेका छन् ।
हिजो (आइतबार) भारतमा २६ हजार ५ सय १३ जना संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमितको संख्या १ करोड १३ लाख ८५ हजार १ सय ५८ जना संक्रमित भएका छन् ।
त्यस्तै १७ हजार ५ सय ९० जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म १ करोड १०लाख ५ हजार ४ सय ४५ जनालाई निको भइसकेको छ । हिजो (आइतबार) १ सय २० जनाको ज्यान गएको छ भने अहिलेसम्म १ लाख ५८ हजार ७ सय ६२ जनाको ज्यान गइसकेको छ ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा २३ लाख १४ हजार ४ सय १३ जना संक्रमित भइसकेका छन् । आइतबार एकैदिन १६ हजार ६ सय २० जना संक्रमित थपिएका छन् । हाल १ लाख २६ हजार २ सय ३१ जना सक्रिय संक्रमित रहेका छन् ।
भारतको केरलमा २९ हजार ४ सय ७४ जना सक्रिय संक्रमित छन् भने कर्नाटकमा ८ हजार ३ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै भारतमा कोरोनाको खोप लगाउने क्रम बढेको भए पनि संक्रमितसमेत थपिँदा चिन्ताको स्थिति बनेको छ । अहिलेसम्म भारतमा २ करोड ७३ लाख ४५ हजार १ सय ९१ जनाले कोरोनाको खोप लगाएका छन् ।
भारतको विभिन्न ठाउँमा अहिले पनि निषेधाज्ञा लगाइएको छ भने नेपालको सीमा जोडिएको विहार राज्यमा भने ३ सय ३७ जना मात्रै सक्रिय संक्रमित रहेको बताईएको छ ।