आज :

ताजा समाचार

आज यो वर्षकै चिसो दिन, काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री, तराईमा बाक्लो हुस्सु

  पुरुषोत्तम ढकाल    ३० मंसिर २०७७, मंगलवार ०७:५८      654 Views

काठमाडौं: काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । काठमाडौं उपत्याकाको आज विहान साढे ६ बजेको तापक्रम यो वर्षको आजसम्मकै कम ३ डिग्री सेल्सियस मापन गरिएको हो ।

“आज विहान साढे ६ बजेको तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ । यो तापक्रम यो वर्षको आजसम्मकै न्यून हो,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “दिउँसो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८–२० डिग्री सेल्यिससम्म पुग्ने छ ।”

यसअघि हिजो काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस थियो । आज दिनभर काठमाडौं उपत्यकाको मौसम सफा रहने छ । उनका अनुसार आगामी दिनमा अझै योभन्दा चिसो बढ्दै जाने छ ।

यसैबीच, अहिले (बिहान) देशको तराइका अधिकांश भू–भागमा कुहिरो र हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“तराइका अधिकांश भू–भागमा तथा पहाडका केही भू–भागमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी आउने भएकाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको छ,” मौसमविद् नगरकोटी भन्छिन्, “त्यसैले आवश्यक सतर्कता अपनाउनु पर्ने देखिन्छ । तर घाम लाग्दै जाँदा बिस्तारै हुस्सु फाट्दै जाने छ ।”

आज दिउँसो प्रदेश–१, प्रदेश–२ तथा बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ विभागको पूवानुमान छ ।


प्रतिक्रिया दिनुहोस