आज :

ताजा समाचार

प्रभु लाइफ इन्स्योरन्सको आईपीओ आजदेखि विक्रीमा

  पुरुषोत्तम ढकाल    २९ मंसिर २०७७, सोमबार ०७:४४      1045 Views

काठमाडौं: प्रभु लाइफ इन्स्योरन्स कम्पनीले मंसिर २९ गते सोमवारदेखि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ विक्री खुला गर्न लागेको हो ।

सर्वसाधारणका लागि छुट्याइएको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्इयाएको छ ।

सार्वजनिक निष्कासन मार्फत विक्रीमा आउने ५४ लाख कित्तामा मात्र अन्य सर्वसाधारणले आवेदन दिन सक्नेछन् । हाल कम्पनीमा संस्थापक तर्फको मात्र रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।

छिटोमा पुस २ गते र ढिलामो पुस १३ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था छ ।

यसैगरी इच्छुक आवेदकले सीडीएससीले सोमबारदेखि सञ्चालनमा ल्याएको मेरोशेयरको एप मार्फत पनि आवेदन दिन सक्नेछन्। यसअघि उक्त एपमा माईआस्वा सुविधा थिएन ।

साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि यो आईपीओमा आवेदन दिन सकिनेछ । कम्पनीको यो आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

उक्त कम्पनीले आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर ११ गते अनुमति पाएको हो । कम्पनीले गत असोज १४ गते उक्त आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो । नयाँ बीमा कम्पनीको रुपमा विसं २०७४ साल मंसिर २८ गतेदेखि उक्त कम्पनीले औपचारिक रुपमा कारोबार शुरु गरेको हो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म उक्त कम्पनीले रू. ३ करोड ९ लाख २४ हजार खुद नाफा गरेको छ । यो रकम गत वर्षको यस अवधिमा रू. १ करोड २२ लाख ९४ हजार थियो ।

नाफा वृद्धि गर्दै गएको उक्त कम्पनीले यस वर्षको पहिलो त्रैमाससम्म रू. २५ करोड ९७ लाख ९१ हजार कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ६१ लाख ६८ हजार कुल दाबी भुक्तानी गरेको छ ।

हाल कम्पनीमा १ लाख २० हजार ४६९ बीमालेख कायम रहेको छ । यस वर्षको पहिलो त्रैमासमा मात्र कम्पनीले २२ हजार ५९४ बीमालेख कायम गरेको छ ।

यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. २३ करोड ९१ लाख ७९ हजार रहेको छ भने जीवन बीमा कोषमा रू. १ अर्ब १९ करोड ४९ लाख ८५ हजार रहेको छ ।


प्रतिक्रिया दिनुहोस