आज :

ताजा समाचार

स्पानिस ला लिगामा एट्लेटिको मड्रिड शीर्ष स्थानमा, बार्सिलोनाको अप्रत्यासित हार

  पुरुषोत्तम ढकाल    २१ मंसिर २०७७, आईतवार ०८:२२      1541 Views

काठमाडौं: स्पानिस ला लिगामा दुई मड्रिड क्लबले जित हात पार्दा बार्सिलोना भने अप्रत्यासित रुपमा काडिजसँग पराजित भएको छ ।

गएराति भएको खेलमा रियल भाल्लाडोलिडलाई २-० ले पराजित गर्दै  एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लेको छ ।

घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले दुवै गोल दोस्रो हाफमा गरेको थियो । थोमस लेमारले ५६औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए भने ७२औं मिनेटमा मार्कुस लरेन्टले टिमका लागि दोस्रो गोल गरे ।

जितपछि १० खेलबाट २६ अंक जोड्दै एट्लेटिको शीर्ष स्थानमा उक्लेको हो । एक खेल बढी खेलेको रियल सोसिडाड २४ अंकसहित दोस्रो स्थानमा छ ।

आत्मघाती गोलमा रियल विजयी

आत्मघाती गोलको मद्दतमा रियल मड्रिडले सेभियालाई हराउँदै ३ अंक जोडेको छ । सेभियाको मैदानमा भएको खेलमा रियलले १-० को जित हात पारेको हो ।

पहिलो हाफको खेल गोलहरति बनेपनि दवस्रो हाफमा भाग्यमानी बन्दै रियलले जित हात पार्‍यो । खेलमा सेभियाका यासिन कोउनोउले ५५औं मिनेटमा आत्मघाती गोल गर्दा रियलले अग्रता बनायो ।

रियलका भिनिसियल जुनियरको प्रहार रोक्न खोज्दा गोलकिपर यासिनलाई लाग्दै गोल भएको हो । अन्त्यमा त्यही गोल निर्णायक बन्दा रियल १-० ले विजयी भयो र चौथो स्थानमा उक्लन सफल भयो । यस जितपछि रियलले ३ खेलको जतविहिन यात्रा टुङ्गाएको छ ।

१० खेलबाट २० अंक जोडेको रियल चौथो स्थानमा उक्लेको हो । भियारियालको पनि समान अंक रहेपनि रियल गोलअन्तरमा अघि रहेको छ । सेभिया भने १० खेलबाट १६ अंकसहित छैटौं स्थानमा छ

बार्सिलोना काडिजसँग पराजित

मड्रिड क्लबहरुले जित हात पार्दा बार्सिलोना भने काडिजसँग पराजित भएको छ । घरेलु मैदानमा काडिजले बार्सिलोनामाथि २-१ को शानदार जित हात पारेको हो ।

खेलमा तीनै गोल काडिजका खेलाडीले गरेका थिए । लिओनल मेसी एन्टोनी ग्रीजमन फिलिप काउनटिन्हो जस्ता खेलाडी खेलाडी रहेपनि बार्सिलोना हार व्यहोर्न बाध्य भयो ।

घरेलु मैदानमा खेलको आठौं मिनेटमै अल्भारो जिमिनेजले गोल गर्दै काडिजलाई अग्रता दिलाए । पहिलो हाफमा काडिजले उक्त अग्रता कायमै राख्यो । ५७औं मिनेटमा काडिजकै पेड्रो अल्सालाले आत्मघाती गोल गर्दा बार्सिलोनाले खेल बराबरी गर्न सफल भयो ।

तर ६३औं मिनेटमा अल्भारो नेग्रेडोले गोल गर्दै पेरि काडिजलाई अग्रता दिलाए र त्यही गोल निर्णायक बन्दा काडिजले २-१ ले खेल जित्यो ।

सन् १९९१ पछि काडिजले बार्सिलोनालाई पहिलो पटक पराजित गरेको हो । त्यतिखेर बार्सिलोनाका खेलाडी रहेका रोनाल्ड कोएमन हाल बार्साको प्रशिक्षकका रुपमा छन् ।

जितपछि १२ खेलबाट १८ अंक जोड्दै काडिज पाँचौ स्थानमा उक्लेको छ । १० खेलबाट १४ अंक रहेको बार्सिलोनाले भने पाँचौ स्थानमा उक्लने मौका गुमायो र सातौ स्थानमै यथावत छ ।


प्रतिक्रिया दिनुहोस