आज :

ताजा समाचार

झारफुकको भर पर्दा ११ जना सर्पदंशका बिरामीको मृत्यु

  पुरुषोत्तम ढकाल    ४ आश्विन २०७७, आईतवार ०८:०२      649 Views

कपिलवस्तु : दाङको घोराही उपमहानगरपालिका–१२ रतनपुरकी चित्रकला पुन मगरलाई भदौ ३० गते दिउँसो १ बजे सर्पले डस्यो। उनी कपिलवस्तुको शिवराज–९ बिजगौरीस्थित माइती घरमा रहँदा नै सर्पले डसेको हो। बिजगौरीबाट ४५ मिनेटको दूरीमा रहेको गोरुसिंगेमा सर्पदंश उपचार केन्द्र छ। तर, उनी उपचारको साटो झारफुक गराउन तर्फ लागिन्।

गाउँ कै अटो रिक्सा चलाउने ‘तामिलनाडु’ भन्ने मानिसले सर्पले डसेकाको झारफुक गर्दै आएका थिए। त्यसैले झारफुकबाट निको गराउने विश्वास दिलाएर झारफुक सुरु गरे तर बिरामीको अवस्था जटिल हुँदै गयो।

त्यसपछि मात्र उपचारका लागि लैजाने तरखर गरे। उपचार केन्द्र पुग्दा साँझको ५ बजेको थियो। केन्द्र नपुग्दै चित्रकलाको मृत्यु भयो। समयमा उपचार नपाउँदा चित्रकलाको मृत्यु भएको सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नविन भण्डारीले बताउँछन्। झारफुकमा विश्वास गर्दा यस सिजनमा चित्रकालाजस्तै गरी ११ जनाको मृत्यु भएको उपचार केन्द्रको तथ्यांकमा छ। ती सबैजना अन्तिम अवस्थामा पुगेपछि मात्र उपचारका लागि उपचार केन्द्रमा ल्याइएको भण्डारीले बताए।

‘झारफुकका कारण मृत्यु भएका रेकर्डमा नभएका धेरै केस हुन सक्छन्,’ व्यवस्थापनक भण्डारीले भने, ‘जुन स्वास्थ्य संस्थासम्म नआएका पनि हुन सक्छ। त्यस्ता घटनालाई निरुत्साहित गर्न स्थानीय सरकारले चासो दिनु पर्छ।’ चित्रकलाको घटनालाई केलाउने हो भने शिक्षित घर परिवारमा पनि झारफुकमा विश्वास गरेको देखिन्छ।

उनको परिवार शिक्षित भए पनि झारफुकतर्फ जोड दिएको एक स्थानीयले बताए। सर्पदंश उपचार केन्द्रका सर्पले डसेपछि झारफुक गर्ने प्रचलन ग्रामीण क्षेत्रमा बढी छ। केन्द्रका अनुसार कपिलवस्तु, दाङ, प्युठान, अर्घाखाँचीबाट आउने केही बिरामी झारफुकपछि मात्र उपचार गराउन आउने गरेका छन्।

झारफुक कै कारणबाट यस सिजनमा प्युठानका पाँच, कपिलवस्तुका चार र अर्घाखाचीका दुईजनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस