आज :

ताजा समाचार

थारु समुदाय घर-घरमै जितिया पर्व मनाउँदै, सामूहिक नाचगान र भोजभतेरमा रोक

  पुरुषोत्तम ढकाल    २५ भाद्र २०७७, बिहीबार ०७:४८      383 Views

काठमाण्डाै: जितिया पर्व सुरु भएको छ । तीन दिन मनाइने जितियाको पहिलो दिन नदीमा जाने र माछा मारेर ल्याउने गरिन्छ ।
दोस्रो दिन स्नान गर्ने र जितवाहनको पूजा गर्ने तथा तेस्रो दिन समापन गर्ने गरिन्छ । थारु समुदायको परम्परागत पहिरनमा सजिएर सामूहिक रुपमा झाम्टा नाच्दै जितिया मनाउने गरिएकोमा यो वर्ष कुनै रौनक छैन ।
जितिया अन्तर्गत आश्विन कृष्ण सप्तमी तिथिका दिन व्रतालु नदी, तलाउ वा पोखरीमा पुगेर स्नान गरी सूर्यदेवलाई जलर्पण गरेर पर्वको सङ्कल्प गर्छन् । घिरौंँलाकाे पातमा पिना, चिउरा र दही राखेर जिमूतवाहनलाई अर्पण गरी पर्व सुरु भएको हो ।
अष्टमी तिथिमा निराहार व्रत हुन्छ । त्यसअघि अन्न र फलफूल ग्रहण गरिन्छ, जसलाई ‘ओठघन’ भनिन्छ । यसपल्ट तिथि हेरफेर भएकाले व्रतालुले ओठघन गर्न पाएका छैनन् । आज ओठघन गर्न नियमले नपाइने पण्डित विमल झाले बताउनुभयो ।
नवमी तिथिमा पूजापाठ गरेर पर्व समापन हुन्छ । व्रतालु यसपल्ट ३३ घण्टासम्म उपवासमा बस्ने भएका छन् । यसवर्ष कोरोना महामारीका कारण घरघरमै जितिया पर्व मनाइँदै छ । सामूहिक नाचगान र भोजभतेरमा भने रोक लगाएको थारु कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले बताउनुभयो ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताउनुभएको छ ।
जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले आफ्नो परिवारका सदस्यको सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाउने जितिया जस्ता पर्वले एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेको समेत बताउनुभयो ।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानी पूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको भन्दै उहाँले आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वान समेत गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस