काठमाडौं: गुर्जो एउटा लहरेदार पतझर विरुवा हो। यसको लहरा मोटो र गुदीदार हुन्छ। यसका आँख्लाहरूबाट जरा निस्केर हावामा लहरिएका हुन्छन्। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता ग्रन्थीका थोप्ला थोप्लाले भरिएको हुन्छ। यसका पातहरू एकपछि अर्को हुँदै गएका हुन्छन् र भेट्नुदार हुन्छन्। पातहरू मुटु आकारका ७—८ वटा नशाहरू भएका करीब १० से.मी लामा हुन्छन्। यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन्। भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी फुलहरू एक्लाएक्लै रहेका हुन्छन्। फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन्।