आज :

ताजा समाचार

राष्ट्रिय सभामा वामदेव गौतम कि युवराज खतिवडा ?

  पुरुषोत्तम ढकाल    १८ भाद्र २०७७, बिहीबार ०८:०३      554 Views

काठमाडौँ: सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभाका रिक्त एक सिटमा अर्थमन्त्री डा. युवराज खतिवडालाई निरन्तरता दिने कि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने भन्नेमा सत्तारुढ नेकपाभित्र मतभेद बढेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पहिलेदेखि नै खतिवडालाई निरन्तरता दिने पक्षमा हुनुहुन्छ । तर गौतमले समेत राष्ट्रिय सभामा जाने चाहना व्यक्त गरेपछि ओली अप्ठ्यारोमा पर्नुभएको छ ।

पार्टीभित्रबाट आफ्नो राजीनामाको दबाब बढेको बेला साथ दिएका गौतमलाई मनाउँदै खतिवडालाई नै निरन्तरता दिने ओलीको चाहना रहे पनि प्रचण्डसहित पार्टी सचिवालयका बहुमत सदस्य यसको विपक्षमा छन् ।

यसै विषयमा हिजो ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । छलफलमा ओलीले नेता गौतमलाई आफूले मनाउन सक्ने र खतिवडालाई नै निरन्तरता दिने प्रस्ताव गर्नुभएको थियो ।

तर प्रचण्डले गौतमलाई राष्ट्रिय सभामा पठाउने पार्टी सचिवालय बैठकको यसअघिको निर्णय लागू हुनुपर्ने बताउनुभएको छ । दुई अध्यक्षबीच कुरा नमिलेपछि आज बस्ने पार्टी सचिवालय बैठकमा यसबारे छलफल हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस