आज :

ताजा समाचार



एन्फाले खेलाडीको पीसीआर परीक्षणपछि मात्रै प्रशिक्षणमा सहभागी गराउने

  पुरुषोत्तम ढकाल    २३ श्रावण २०७७, शुक्रबार ०८:२२      64 Views

काठमाण्डौ: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षणको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराउने भएको छ ।

आउँदो भदौ १ गतेदेखि थाल्ने प्रशिक्षणका लागि ३४ खेलाडीलाई १४ दिनको क्वरेण्टीनमा राखिएको छ । प्रशिक्षणको तयारीमा जुटेको एन्फाले राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीलाई गएको आइतबारदेखि क्वरेण्टीनमा राखेको हो।

एन्फा प्रवक्ता किरण राईकाअनुसार आउँदो बुधबारसम्म ती सबै खेलाडीको पीसीआर परीक्षण गरिने छ । पीसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई भदौ १ गतेदेखि प्रशिक्षण दिइने उहाँले बताउनुभयो । प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा दिइने छ ।

एन्फाले खेलाडीले पोशाक फेर्ने कोठामा कम समय बिताउनुपर्ने, सबै खेलाडी प्रशिक्षक र पदाधिकारीलाई कोरोना भाइरसको विषयमा जानकारी गराउने, अभ्यासका क्रममा दर्शकलाई मैदानमा प्रवेश गर्न नदिने, खाना सामूहिक रुपमा खान नपाइने, व्यक्तिगत दूरी बनाएर खानुपर्नेलगायत मापदण्ड बनाएको छ ।

त्यस्तै एन्फाले फिफा विश्वकप, २०२२ र एएफसी एसियन कप, २०२३ को छनोट प्रतियोगिताका लागि तयारी अगाडि बढाएको छ । नेपाली टोलीलाई मुख्य प्रशिक्षक योहान कालिन र सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण दिनुहुनेछ । बाइस खेलाडी आफ्नो घरमा तथा १२ खेलाडीलाई एन्फाले होटेलमा क्वरेण्टीनमा राखेको छ ।

सुरुआतमा एन्फाले सरकारलाई कोरोना महामारीका बेला सहयोग गर्ने भन्दै आफ्नो होस्टेललाई क्वरेण्टीनका रुपमा प्रयोग गर्न ललितपुर उपमहानगरपालिकाको जिम्मा लगाएको थियो ।

अहिले सातदोबाटोमा रहेको होस्टेललाई एन्फा आफैँले लिएर खेलाडीलाई क्वरेण्टीनमा राख्न प्रयोग गरेको छ । सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो ।

लकडाउन लगत्तै फुटबल प्रशिक्षण पनि रोकिएको थियो । सरकारले लकडाउन खुला गरेसँगै एन्फाले खेलाडी प्रशिक्षणको प्रक्रिया अघि बढाएको छ । नेपालले विश्वकप छनोटअन्तर्गतको खेलका लागि प्रशिक्षण थाल्नेछ ।

यसअघि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु गर्नका लागि युवा तथा खेलकूद मन्त्रालयमार्फत कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग अनुमति मागेको थियो ।

एन्फाले फिफा विश्वकप, २०२२ र एएफसी एशियन कप, २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि अनुमति मागेको थियो । कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आउँदो अक्टोबर र नोभेम्बरमा गराउने एशियाली फुटबल महासङ्घ (एएफसी) ले फिफालाई प्रस्ताव गरेको छ ।

स्थगित भएका खेलहरू आउँदो अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने उल्लेख छ । दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ ।

ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस