आज :

ताजा समाचार

कर्मचारी संक्रमित हुँदा सरकारी अड्डा धमाधम बन्द

  पुरुषोत्तम ढकाल    २२ श्रावण २०७७, बिहीबार ०८:०३      542 Views

काठमाडौं: कोरोना संक्रमण बढ्दै गर्दा सरकारी कार्यालयको सेवा प्रभावित हुन थालेको छ ।
सर्वाेच्च अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मका कर्मचारीमा संक्रमण देखिएको छ । जोखिम बढेकाले कतिपय कार्यालय नै बन्द भएका छन् भने कतै सेवा कटौती गरिएको छ ।
आन्तरिक संक्रमण बढेपछि विज्ञहरूले देशव्यापी लकडाउनमै जान सरकारलाई सुझाब दिएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले अबको रणनीतिबारे विज्ञसँग छलफल गरेका थिए । बिहीबार मन्त्रिपरिषद् बैठकबाट लकडाउनमा जाने वा अन्य विकल्प अपनाउनेबारे निर्णय लिइने एक मन्त्रीले जानकारी दिए ।
लकडाउन खुलेसँगै सरकारी कार्यालयमा अत्यधिक भिड बढेको छ । त्यससँगै कर्मचारी र सुरक्षाकर्मीमा संक्रमण बढ्न थालेको छ । बुधबार वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र उनकी पत्नीसहित १६ जनामा संक्रमण पुष्टि भएको छ । वीरगन्जका मेयर विजय सरावगी कोभिड–१९ उपचारमै छन् । महानगरको सेवा बन्द हुने अवस्थामा छ । यस्तै, पर्सा जिल्ला कारागार प्रमुखको रिपोर्ट पनि पोजिटिभ आएको छ ।
सिंहदरबारमा कडाइ, गृहमा प्रहरीलाई रोक
संक्रमण बढ्न थालेपछि सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । थप कर्मचारीमा संक्रमण बढ्ने जोखिमका कारण गृह मन्त्रालयले बुधबारदेखि कडाइ थालेको हो । भिड नरोकिएपछि कडाइ गर्नुपरेको गृह प्रवक्ता चक्रबहादुर बुढा बताउँछन् । उनका अनुसार अत्यावश्यक कामबाहेकका सेवाग्राहीलाई सिंहदरबार प्रवेश पनि रोकिएको छ । मन्त्रालय आउने प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीलाई गेटबाटै फर्काउन थालिएको छ ।
प्रहरी मुख्यालयका ७५ जना संक्रमित
काठमाडौं नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत ७५ जनामा संक्रमण देखिएको छ । तीमध्ये बढी सवारी तथा एमटी शाखामा कार्यरत प्रहरी छन् । एक सातायता प्रहरी प्रधान कार्यालयमा बाहिरका व्यक्तिको प्रवेश रोकिएको छ । सकेसम्म थोरै प्रहरीबाट मुख्यालयको काम सञ्चालनमा छ ।
बुधबारसम्म देशभर दुई सय ९९ जनामा संक्रमण देखिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायत बताउँछन् । तीमध्ये एक सय ९० जना उपचाररत छन् । ‘अहिले नै सेवा प्रवाहमा समस्या आइसकेको छैन,’ उनी भन्छन्, ‘ठूलो संख्यामा संक्रमण देखियो भने समस्या आउन सक्छ ।’ उनका अनुसार ठूलो संख्यामा प्रहरी बस्ने गणहरूमा परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
भिड नियन्त्रण नहुँदा लाइसेन्स वितरण बन्द
लकडाउन खुलेसँगै यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको भिड लाग्यो । भिड नियन्त्रण गर्न नसकेपछि उपत्यकाका सबै यातायात कार्यालयले लाइसेन्स वितरण रोकेका छन् ।
‘दिनमै ४–५ सयजनाको भिड लाग्न थाल्यो, भौतिक दूरी कायम भएन,’ सानोभर्‍याङस्थित कार्यालयका प्रवक्ता उपेन्द्र शाह भन्छन्, ‘अनुशासन पालना नभएपछि जोखिम देखेर लाइसेन्स वितरण रोकेका छौँ ।’ नयाँ लाइसेन्सको आवेदन, ट्रायललगायत सेवा सुरु भएका छैनन् । इ–टोकन प्रणाली लागू गरेर यातायात कार्यालयले दिनमा थोरैलाई मात्र सेवा दिने तयारी थालेका छन् ।
उच्च जोखिममा मालपोत
लकडाउन खुलेपछि सेवाग्राहीको अत्यधिक भिड बढेको अर्काे सरकारी कार्यालय हो, मालपोत । भिड बढेपछि कर्मचारीले असुरक्षित महसुस गरेका छन् । ‘मालपोतमा भिडभाड असाध्यै छ,’ भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेल भन्छन्, ‘मालपोतमा ल्याप्चे लगाउने, तस्बिर खिच्ने जस्ता काम पनि हुने भएकाले बढी जोखिम छ ।’
मालपोत कार्यालय उदयपुरका एक कर्मचारीमा संक्रमण देखिएको छ । अन्य कर्मचारीको परीक्षण नै भएको छैन । सेवाग्राहीले स्वास्थ्य मापदण्ड पालना नगर्दा समस्या बढेको र कर्मचारीलाई संक्रमण बढेमा लामो समय सेवा नै रोक्नुपर्ने अवस्था आउने महानिर्देशक पौडेल बताउँछन् । केही दिनयता संक्रमण बढेपछि कर्मचारी पनि आलोपालो प्रणालीमा कार्यालय जान थालेका छन् । कतिपय कर्मचारी हाजिर गरेर घर फर्किन्छन् ।
ट्राफिक महाशाखा आइतबारदेखि बन्द
काठमाडौं बग्गीखानास्थित महानगरीय ट्राफिक महाशाखा आइतबारदेखि बन्द छ । सडकमा ट्राफिकको ड्युटी नियमित रहे पनि कार्यालयबाट दिइने सेवा भने बन्द गरिएको छ । महाशाखामा कार्यरत पाँच प्रहरीलाई संक्रमण देखिएको छ ।
महाशाखा प्रमुख एसएसपी भीम ढकालसहित तीन सय १२ ट्राफिक प्रहरी क्वारेन्टाइनमा छन् । ठूलो संख्यामा क्वारेन्टाइनमा बस्नुपर्दा सडकमा ड्युटी खटाउन समस्या भएको छ । ‘कम चाप भएको क्षेत्रमा खटिएका ट्राफिकलाई धेरै चाप भएका क्षेत्रमा खटाइएको छ,’ ढकाल भन्छन्, ‘कार्यालय खुल्न केही दिन लाग्छ ।’
सर्वाेच्चका चालकमा संक्रमण
सर्वोच्च अदालतका एक चालकमा बुधबार संक्रमण पुष्टि भएको छ । त्यसयता संक्रमण फैलिने जोखिमका कारण अदालतमा उपस्थित गराइने अभियुक्तको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।
बढी आवतजावत गर्नुपर्ने र सर्वसाधारणको प्रत्यक्ष सम्पर्कमा रहने सर्वोच्चका कर्मचारीको स्वाब संकलन गरिएको थियो । ‘एक सय ८० जनाको स्वाब संकलन गरिएको थियो, तीमध्ये एकजनामा संक्रमण देखिएको छ,’ सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकाल भन्छन् । संक्रमितलाई आइसोलेसनमा पठाइएको छ । अदालती कामकारबाही भने सुरक्षा सतर्कता अपनाउँदै सञ्चालनमा रहने सर्वोच्चले जनाएको छ ।
संक्रमणको जोखिमका कारण प्रदेश–२ का अदालतमा सेवा प्रवाह सीमित बनाइएको छ । धनुषास्थित जिल्ला र उच्च अदालत १६ देखि ३१ साउनसम्मका लागि ठप्पझैं छन् । १३ साउनमा उच्च अदालतका एक न्यायाधीशमा संक्रमण देखिएको थियो ।
यसअघि उच्च अदालत राजविराज इजलासका एक न्यायाधीश र सप्तरी जिल्ला न्यायाधिवक्तामा पनि ११ साउनमा संक्रमण देखिएको थियो । प्रदेश–१ को मुख्य न्यायाधिवक्ता कार्यालयका एक कर्मचारीमा संक्रमण देखिएको छ ।
अख्तियारको काम प्रभावित
काठमाडौं नक्सालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जनामा संक्रमण देखिएको छ । तीमध्ये नौ प्रहरी र पाँच कर्मचारी छन् । थप प्रहरी र कर्मचारी क्वारेन्टाइनमा छन् । अख्तियारका एक सय ८२ कर्मचारीको स्वाब संकलन गरिएको थियो । तीमध्ये १५ जनामा कोभिड–१९ पोजिटिभ देखिएपछि आयोगको स्टिङ अप्रेसनलगायत काम प्रभावित बनेका छन् । आयोगका सबै कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी छ ।
बाँकेका अधिकांश सरकारी कार्यालयमा फैलियो कोरोना
बाँके सदरमुकाम नेपालगन्जका अधिकांश सरकारी कार्यालयका कर्मचारीमा संक्रमण देखिएको छ । यातायात व्यवस्था, अदालत, आन्तरिक राजस्व, उपमहानगरपालिका, जिल्ला कारागार, वडा प्रहरी र इलाका प्रहरी कार्यालयका कर्मचारीमा संक्रमण देखिएको छ । अधिकांश कर्मचारी क्वारेन्टाइनमा भएपछि सेवा प्रवाह ठप्प छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार कर्मचारीमा संक्रमण देखिएका सबै कार्यालय बन्द गरिएको छ । प्रहरी कार्यालयहरू पनि सिल गरिएको उनी बताउँछन् ।
अहिलेकै दरमा सुरक्षा निकायमा संक्रमण बढेमा ठूलो समस्या आउन सक्ने गृह मन्त्रालयको चिन्ता छ । सुरक्षा जनशक्ति अपुग भएको अवस्थामा ठूलो संख्यामा उपचार र क्वारेन्टाइनमा हुँदा नियमित शान्ति सुरक्षाको काममा असर पर्न सक्ने गृहका अधिकारीहरू बताउँछन् ।
सशस्त्र प्रहरीका कार्यालय नै सिल
सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमा पनि संक्रमण बढेको छ । सबैभन्दा बढी झापामा ३३ र इलाममा ३० जनामा संक्रमण देखिएको छ । सम्बन्धित कार्यालय सिल गरेर सबैको परीक्षण प्रक्रिया अगाडि बढाइएको छ । सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार देशभर एक सय ४० जनामा संक्रमण देखिएको छ ।
संक्रमण बढेसँगै ड्युटीमा समस्या हुन थालेपछि सशस्त्र प्रहरीले यससम्बन्धी प्रोटोकल नै बनाएको छ । ठूलो संख्यामा परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ आएकालाई मात्र ड्युटीमा खटाउने योजना बनाइएको डिआइजी अर्याल बताउँछन् । काठमाडौं हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा बुधबारदेखि सबैको परीक्षण सुरु गरिएको छ ।
१४ जिल्लामा निषेधाज्ञा
लडकाउन खुलेसँगै कोरोना संक्रमण बढेका जिल्लामा निषेधाज्ञा जारी हुन थालेको छ । बुधबारसम्म १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ ।
पर्सा, बारा, बाँके, सर्लाही, सप्तरी र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलामा संक्रमण देखिएका क्षेत्रमा मात्र निषेधाज्ञा छ ।
नुवाकोट विदुर नगरपालिकाका विभिन्न क्षेत्र, धनुषाको जनकपुर उपमहानगर र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्र, मोरङको विराटनगर महानगर, महोत्तरी सदरमुकाम जलेश्वर आसपास, झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिका, बझाङका थलारा गाउँपालिका–५ र केदारस्युँ गाउँपालिका–६ र ७ मा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन् ।
संक्रमण फैलेका जिल्लामा जोर–बिजोर प्रणाली
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले उपत्यकासहितका जिल्लामा सवारीसाधनमा बिहीबारदेखि जोर–बिजोर प्रणाली लागू गरेको छ । दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा जोर–बिजोर लागू गरिएको हो ।
संक्रमणको जोखिम बढ्दै गएपछि भिडभाड नियन्त्रण गर्न जोर–बिजोर लागू गर्नुपरेको गृह मन्त्रालयले जनाएको छ । दुई सयभन्दा बढी संक्रमित भएका जिल्लामा राति ९ देखि बिहान ६ बजेसम्म हिँडडुलमा पनि रोक लगाइएको छ । मन्त्रालयका अनुसार अत्यावश्यक सेवा तथा ढुवानीका सवारीसाधनलाई भने जोर–बिजोर प्रणाली लागू हुनेछैन ।
स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन तथा मास्क नलगाउनेलाई जरिवाना गर्न पनि गृहले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई विशेष निर्देशन दिएको छ ।
स्वास्थ्य मापदण्ड पालना गर्ने कम्पनीहरूलाई समेत कारबाही गर्न निर्देशन दिइएको छ । होटेलमा भोज हुन थालेपछि त्यसमा पनि कडाइ गर्न भनिएको छ । भारतमा संक्रमण बढेकाले सीमामा पनि अवैध आवातजावत रोक्न भनिएको छ । नयाँ पत्रिका दैनिकबाट


प्रतिक्रिया दिनुहोस