आज :

ताजा समाचार

 देशभर कोरोना सङ्क्रमण दर उच्च, आजदेखि सवारीसाधनमा पुन: जोरबिजोर प्रणाली लागू

  पुरुषोत्तम ढकाल    २२ श्रावण २०७७, बिहीबार ०७:१५      288 Views

काठमाडौँ: बन्दाबन्दी खुलेपछि देश भर कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ ।
बन्दाबन्दी खुलेपश्चात् काठमाडौं उपत्यकामा सङ्क्रमित दर झनै बढेको छ । हिजो मात्र काठमाडौँं उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६२ सहित देशभर ३ सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
यसैबीच कोरोना संक्रमितको संख्या बढ्दै गएर समुदायस्तरमै महामारी बढ्ने जोखिम बढेपछि सरकारले आजदेखि सवारीसाधनमा पुन: जोरबिजोर प्रणाली लागू गरेको छ।
गृह मन्त्रालयले हिजो एक सूचना निकालेर जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने जनाएको छ।
सवारीसाधनमा लगाइएको जोरबिजोरको नियम काठमाडौं उपत्यका र २ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित भएको जिल्लामा लागू हुनेछ।
कोरोना भाइरस संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि ११ चैतदेखि लागू गरिएको लकडाउन संक्रमण दर घटेको ठहरसहित साउन ७ बाट हटाइएको थियो।
त्योसँगै छोटो दूरीका सार्वजनिक सवारी, होटल/व्यवसाय खुलाइएका थिए। तर, सार्वजनिक स्थलहरूमा पुन: भीड बढ्न थालेको र सर्वसाधारणले कोभिड-१९ को जोखिमलाई बेवास्ता गरेकोले समुदायस्तरमै संक्रमण फैलिनसक्ने भन्दै पुन: लकडाउन गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।
लकडाउन खुलेयता दिनहुँ संक्रमित थपिएसँगै सरकारले कोभिड-१९ विरुद्ध नयाँ योजनाहरू अघि सार्न गृहकार्य थालेको छ।


प्रतिक्रिया दिनुहोस