आज :

ताजा समाचार

आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  पुरुषोत्तम ढकाल    १८ श्रावण २०७७, आईतवार ०७:२५      311 Views

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले गएको मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ वृद्धि गरेको छ। यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १ रूपैयाँ ५० वृद्धि भएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो। यसअघि पेट्रोल प्रतिलिटर १०२ रूपैयाँ रहेकामा अब भने १०४ पुगेको छ। यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रूपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० रूपैयाँ पुगेको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन।

निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर विरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रूपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रूपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ। नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृत रूपमा भारततर्फ तस्करी समेत हुने गरेको छ।

निगमले यसअघि भने जुलाई १६ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भएपनि उपभोक्ताको हितलाई हेरेर मूल्य वृद्धि नगरेको समेत स्मरण गरेको छ।


प्रतिक्रिया दिनुहोस