आज :

ताजा समाचार



उपत्यका भित्रको सुरक्षा केन्द्रीय प्रहरीले हेर्ने, प्रहरी समायोजन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

  पुरुषोत्तम ढकाल    १५ श्रावण २०७७, बिहीबार ०७:०९      43 Views

काठमाडौं: उपत्यकाका तीन जिल्लाको सुरक्षा केन्द्रीय प्रहरी मातहत नै रहने गरी प्रहरी समायोजन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ  ।
प्रहरी समायोजन सम्बन्धमा छलफल गर्न हिजो प्रधानमन्त्रीनिवास गएको गृह मन्त्रालय तथा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूको टोलीलाई प्रधानमन्त्रीले यस्तो निर्देशन दिएनुभएको हो ।
प्रधानमन्त्रीको निर्देशन लगत्तै गृहले त्यहीअनुसार समायोजन प्रक्रिया अघि बढाउन लागेको छ । गृह मन्त्रालयले दुई महिनाअघि नै समायोजनको खाका तयार पारे पनि केही विवादित विषयमा प्रधानमन्त्रीको राय लिएर टुंग्याउन चाहेको थियो । तर, प्रधानमन्त्रीले समय नदिँदा समायोजन प्रक्रिया नै रोकिएको थियो ।
देशको केन्द्रीय राजधानीको सुरक्षा संवेदनशील हुने भएकाले यसलाई केन्द्रीय प्रहरी नै खटाउनुपर्ने प्रधानमन्त्रीको राय रहेको गृह मन्त्रालयका एक अधिकारीले बताउनुभयो  । उपत्यकामा डिआइजीकै नेतृत्वमा केन्द्रीय प्रहरीको कार्यालय रहने, तर महानगरीय प्रहरी भने नरहने भएको छ ।
नाम महानगरीय प्रहरी भए पनि उसले त्यसको अधिकार पाएको थिएन । अब नाम पनि हटाउन लागिएको छ । प्रदेशको प्रमुखलाई प्रदेश प्रहरी महानिरीक्षक नै नाम दिने सहमति पनि भएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी सो बैठकमा गृहसचिव महेश्वर न्यौपाने र सहसचिव रामकुमार आचार्यको ब्रिफिङपछि प्रधानमन्त्रीले यससम्बन्धी निर्देशन दिनुभएको हो  । उपत्यका केन्द्रमातहत हुने भएपछि अब केन्द्रमा ३० हजार तथा प्रदेशहरूमा करिब ५० हजार प्रहरीको दरबन्दी रहनेछ ।
छिमेकी देश भारतको राजधानी नयाँदिल्लीमा पनि सुरक्षा जिम्मेवारी केन्द्रीय प्रहरीलाई नै दिइएको छ । संघीय सरकार र प्रदेश सरकारबीच विवाद भएको अवस्थामा ठूलो समस्या आउन सक्ने भएकाले उपत्यकाको सुरक्षा केन्द्रकै मातहत हुनुपर्नेमा सुरक्षाविद्हरूले बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस