आज :

ताजा समाचार



चीनले मुसलमान समुदायमाथि चरम दमन गरेको आरोप, स्वतन्त्र पुष्टि गर्न चुनौती

  पुरुषोत्तम ढकाल    ५ श्रावण २०७७, सोमबार ०७:३४      51 Views

काठमाडौं: बेलायतले चीनले अल्पसंख्यक उड्गुर मुसलमान समुदायमाथि चरम दमन गरेको आरोप लगाएको छ ।

बेलायतका विदेश सचिव डोमिनिक रावले बिबिसीसँगको कुराकानीमा चीनले अल्पसंख्यक उड्गुर मुसलमान समुदायमाथि चरम मानवअधिकारको हनन् गरेको आरोप लगाउनुभएको हो ।

उहाँले चीनले आफ्ना गतिविधि तत्काल सुधार नगरे चीनमाथि प्रतिबन्धहरु लगाउन सक्ने चेतावनीसमेत दिनुभएको छ ।

लामो समयदेखि चीनले अल्पसंख्यकहरुमाथि दमन गरेका प्रतिवेदनहरु सार्वजनिक भएपनि त्यस्ता व्यवहारमा सुधार नल्याएको विदेशमन्त्री डोमिनिकले आरोप लगाउनुभएको छ ।

तर बेलायतका लागि चिनियाँ राजदुत लियू सियामिङले भने विदेश सचिव डोमिनिकको आरोपको खण्डन गर्नुभएको छ ।

उहाँले चीनले सबै नागरिकमाथि समान रुपमा व्यवहार गर्ने स्पष्ट पार्नुभएको छ ।

उहाँले विभिन्न शिविरहरुमा अल्पसंख्यकलाई चरम यातान दिइएको भन्ने बेलायतको आरोपमा कुनै सत्यता नभएकोसमेत दावी गर्नुभएको छ ।

बेलायतका केही सञ्चारमध्यमले उड्गुर मुसलमानहरुलाई चीनको सिनजियाङ प्रान्तमा रहेका शिविरमा राखेर चरम यातान दिएको भिडियो सार्वजनिक गरेको बताइएपनि त्यसको स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको बीबीसीले उल्लेख गरेको छ ।

चीनले अल्पसंख्यक समुदायको जनसंख्या नियन्त्रण गर्न भन्दै महिला तथा पुरुषहरुलाई अनुमति बिना परिवारनियोजन गर्ने गरेको आरोप लागेको छ ।

तर चीनले सबै नागरिकको मानवअधिकारको रक्षा गर्न तयार रहेको बताउँदै आएको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस