आज :

ताजा समाचार



आज देखि जिल्लाभित्र मात्रै चल्न पाउने गरी सार्वजनिक यातायात खुला, मास्क अनिवार्य

  पुरुषोत्तम ढकाल    २६ असार २०७७, शुक्रबार ०७:२६      73 Views

काठमाण्डाै: लकडाउनको झण्डै साढे तीन महिनापछि सार्वजनिक यातायात खुला भएको छ ।
सरकारले काठमाण्डौ, ललितपुर र भक्तपुरभित्र तथा बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरेको हो । लामो दूरीको गाडी भने चल्न पाउने छैनन् ।
सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने भएको छ । ट्याक्सी बाहेक सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ ।
सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्क र पन्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र गाडीभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ ।
सार्वजनिक यातायात सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जना मात्र राख्नु पर्नेछ । यस्तै एक दिनमा कम्तीमा एकपटक अनिवार्य रूपमा यातायातका साधनलाई संक्रमणमुक्त पनि गर्नुपर्नेछ ।
ट्याक्सीमा चालकबाहेक दुई जनासम्म मात्र यात्रु राख्न पाइने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस