आज :

ताजा समाचार



आज राष्ट्रिय धान दिवस, दिवस तथा रोपाइँ महोत्सव सांकेतिक रुपमा मनाइँदै

  पुरुषोत्तम ढकाल    १५ असार २०७७, सोमबार ०८:५८      91 Views

काठमाडौँ : आज राष्ट्रिय धान दिवस, कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमकाबीच पनि यस वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सांकेतिक रुपमा मनाइने भएको छ ।
कृषि विभागले तयार पारेको मापदण्ड अनुसार मास्क र सेनिटाइजर अनिवार्य गरी दिवस मनाइनेछ । अघिल्ला वर्षमा एकअर्कामा हिलो छ्यापेर महोत्सव मनाइए पनि यो वर्ष भने हिलो खेल्न तथा छ्याप्न निषेध गरिएको छ ।
कोरोना महामारीको समयमा संक्रमण फैलिन नदिन कृषि विभागले बनाएको रोपाइँ महोत्सवका लागि मापदण्ड नै तयार गरेको हो । भौतिक दुरी कायम गरेर सकेसम्म २५ जनामात्र सहभागी हुने र २५ भन्दा बढी सहभागी भए सहभागीबीच न्युनतम ६ फिट अर्थात २ मिटर दूरी कायम गर्नुपर्ने छ ।
काठमाडौं उपत्यकामा भने कृषि विभागले खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को हातामा कार्यक्रम गर्नेछ । कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा राष्ट्रिय धान दिवस गरेर रोपाइँको औपचारिक शुरुआत गरिनेसत्रौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका कृषि विभागका महानिर्देशक काञ्चनराज पाण्डेले जानकारी दिनुभयो ।
नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ गतेलाई ‘धान दिवस’ मनाउने निणर्य भएको थियो । त्यसै वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आएको छ ।
नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ । असार १० सम्म आइपुग्दा नेपालमा २० प्रतिशत धान रोपाइँ सकिएको छ ।
नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ । नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ । तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस