आत्मराम न्यौपाने
कविताको शीर्षक: पीपलको बोटमुनी
ढाई अक्षर प्रेम पोख न निशा, श्री सूर्य डाकौँ अब ।
डेढी श्वास मभित्र राख न दिवा, श्री चन्द्र ताकौँ अब ।
सिङ्गो बुद्ध म बन्न पो मन गरेँ, सिद्धार्थ भागोस् पर ।
सादा जीवन उच्च सोच मनमा, यो विश्व हाँकौँ अब ।
देऊ अन्न पवित्र बोटभरिमा, यो पाकशाला भरूँ ।
देऊ ज्ञान मथेर शुद्ध गतिलो, यो पाठशाला बनूँ ।
देऊ मन्त्र र तन्त्र अग्नि भरिलो, यो यज्ञशाला बनूँ ।
देऊ वर्ण सुवर्णका कखहरू, यो वर्णमाला बनूँ ।
थोरै घ्राण सप्रेम दे कुकुर दे, त्यो सिंह प्रेमी बनोस् ।
सर्को प्राण भरेर दे ढुकुर दे, त्यो गिद्द साथी बनोस् ।
थोपो शक्ति सरक्क दे वदनमा, हाँसून् सबै दुर्जन ।
पित्को भक्ति सलल्ल दे हृदयमा, बाचून् सबै सज्जन ।
मेरो यो अवनी सदैव रसिलो, अक्षुण्ण होस् सर्वदा ।
मेरा यी जनका पवित्र शिरमा, फक्रोस् फुलोस् नम्रता ।
आठै कर्म र आर्यसत्य जतिछन्, सम्पूर्ण यो विश्वमा ।
होओस् पालन बुद्धका वचनका, यो शान्त नेपालमा ।
स्रोत: आत्मराम न्यौपानेको फेसबुकबाट साभार