आत्मराम न्यौपाने
कविताको शीर्षक: गाउँले जीवन
झुल्किन्छन् सविता हिमाल शिरमा, ढिस्का बनिन् बेहुली ।
पाखा पर्वत खर्क हर्क भरियो, छन् छन्दमा कोइली ।
साह्रै स्निग्ध सुरम्य प्रष्ट छरितो, यो गाउँले चिन्तन ।
साच्चै शान्त र सौम्य सभ्य छ अहो, यो गाउँले जीवन ।
पास्नी भोज बिहे पुराण रमिता, जाग्राम मेलादिमा ।
पातैपात सलल्ल बग्छ कविता, यो शुद्ध सङ्गीतमा ।
एक्लैमा डर छैन साथ छ मिठो, पोथ्रा चरा माहुरी ।
सग्ला शास्त्र समीपमा प्रकृतिको, ऐश्वर्यको माधुरी ।
जो दिन्छन् ऋतुमा सबैतिर घुमी, यो गाउँले सोम हो ।
जो लिन्छन् सब भानुले भुवनमा, यो गाउँले होम हो ।
बाँकी जन्म र कर्म मृत्यु चरु हुन्, यो कुण्ड हो व्योमको ।
चारै पाउ चटक्क एक लयमा, यो गाउँले ओम हो ।
यौटा नेत्र फुटाल्छ शुक्र कहिले, विज्ञान फैलाउँने ।
तेस्रो नेत्र नियाल्छ रुद्र जहिले, सद्ज्ञान मौलाउँने ।
उद्यानी रहमा म डुल्न नसकूँ, हे ग्रामबासी किन ?
कुण्ठा यी सब नष्ट पार्छु छिनमा, आऊ मलाई लिन ।