आज :

ताजा समाचार



हरिप्रसाद ढकाल द्वारा वंशस्थ छन्दमा रचित ‘मन’ शीर्षकको कविता

  पुरुषोत्तम ढकाल    ६ जेष्ठ २०७७, मंगलवार १६:१०      131 Views

हरिप्रसाद ढकाल / चानपा-७, भक्तपुर
कविताको शीर्षक: मन
मनै त हो पूर्ण अपूर्ण यै मन
मनै भए शान्त लिइन्न क्यै धन
पखाल्न धोएर अशुद्धि शुद्ध त
म छैन सक्ने मनदेखि अन्यथा ।१।

हुँदैन मैलो सुकिलो कसैगरे
बनेर लाछी, मन यो कतै गए
पगाल्छ संसार सगोल विश्व यो
छ शक्ति यस्मा दुनियाँ तताउने ।२।
चिसो भएमा यसका अगाडि पो
रहन्न सामर्थ्य कसैगरी अहो
लिएर सातो दुनियाँ उजेल्दछ
बिगार्न चाहे सहजै हुँडल्दछ ।३।
छ एक साथी यसको त चाहना
र मित्र अर्को पनि हो त बाहना
उठेर झोक्का पनि भन्छ मित्र हुँ
खुसी र हाँसो सबमा विचित्र हुँ ।४।
तुरुन्त फेरी यसले त मित्रता
बढाउँदै हात हिँडी जतातता
लगामले कस्न सके त भै गयो
भएर छाडा अनि मात्तिने छ यो ।५।
अनेक साथी यसका यताउति
मिलेर बस्दा थपिने छ है खुसी
भलाइ गर्नैकन सक्षमै बनी
भिजाउँदो हो नरको त जीवनी ।६।
गरेर कामै मन माफिकै पनि
खुसी घटाईकन बित्छ जिन्दगी
कसेर राख्ने मन यो कसोगरी
कुँडिन्छ छाती अब यो त बेसरी ।७।
न मान्छ यस्ले अवरोध त्यो पनि
भए त इच्छा यसको जतापनि
ढलक्क ढल्केर गई दिने यही
अडेर संसार जमाउने यही ।८।
कतै छ यस्को सुखको मुहान त्यो
कहीँ त गर्ने विषको उठान यो
हिँडेर पुग्नै त अगम्य ठाउँमा
पुगी तुरुन्तै घर आउने यहाँ ।९।
अरू निदाएर हुँदा अचेत नै
हुँदैन बेहोस बरू सचेत भै
न भोक लाग्ने न त प्यास नै खडा
थकाइ, अल्छी नभनी बनी घडा ।१०।
झल्याँस्स पारी कहिले जगाउने
सखाप पारी हृदयै डढाउने
मुसुक्क मुस्कान दिएर साथमा
सजाउने नै मन हो त विश्वमा ।११।
न हुन्छ कोही यसका विरुद्धमा
न सक्छ जानै यसदेखि दूरमा
दया र माया धन दौलतै पनि
देखिन्छ तुच्छ मनसामु लौ न नि !१२।
स्रोत: हरिप्रसाद ढकालको फेसबुकबाट साभार 

प्रतिक्रिया दिनुहोस