आज :

ताजा समाचार



भारतमा अति शक्तिशाली अम्पुन आँधीको सन्त्रास, १० लाख मानिस सार्ने तयारी

  पुरुषोत्तम ढकाल    ५ जेष्ठ २०७७, सोमबार २१:३६      118 Views

काठमाडौँ: कोरोना महामारीकै बीच बंगालको खाडीमा अम्पुन नामको शक्तिशाली आँधी (चक्रवात) विकास भएपछि भारतमा सन्त्रास फैलिएको छ।

प्रतिघण्टा १३ किलोमिटर गतिमा उत्तरतर्फ सर्दै गरेको यो चक्रवातले बुधबार दिउँसोतिर पश्चिम बंगाल ओडिसाका समुद्री तटमा प्रहार गर्ने भारतीय विज्ञले अनुमान गरेका छन्। त्यो आँधीको प्रहार जमिनमा पर्नुअघि नै त्यस क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी भारतले गरेको छ। त्यसका लागि भारत सरकारले ती क्षेत्रमा २० वटा टोली परिचालन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो चक्रवातबारे उच्चस्तरीय समितिमा छलफल गर्ने भएका छन्। भारतको मौसम विभागले दक्षिणी बंगालको खाडीमा २४ घण्टाजति र उत्तरी भेगमा बुधबाररसम्म माछा मार्न नजान आग्रह गरेको छ।

चक्रवातले समुद्री किनारा भएका क्षेत्र डुबानमा पर्न सक्ने विभागको अनुमान छ। छिमेकी बंगलादेशमा समेत त्यहाँको सरकारले सामाजिक दूरी कायम गर्न सकिने गरी आँधीका बेला बस्ने आश्रयस्थलको संख्या बढाउन आदेश दिइसकेको छ।

भारतको राष्ट्रिय आपदा मोचन बलका प्रमुख एसएन प्रधानले आफूले ती दुई राज्यका सरकारसँग समन्वय गरी परिस्थिति नियालिरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस