हरिप्रसाद ढकाल, चानपा-७, भक्तपुर
कविताको शीर्षक: धर्ती
हे धर्ती ! सबकी महान जननी वात्सल्यकी मोहिनी
प्यारी पुष्पलता सुकोमल बनी हुर्काउने हौ तिमी
तिम्रै यो वयको पिएर सुजलै चम्कन्छ है जिन्दगी
हुन्थ्यो को जिवितै ? तिमी त नभए जान्थे सबै नै मरी ।१।
चारैतर्फ छ यो विशाल जगको आधार प्राणैकन
जस्को साथ लिएर यो सकलको हुर्कन्छ है जीवन
माटो वायु तथा जलै पनि दिने बाँचोस् भनी प्राण त
मौका जीवनको दिने त सबमा, होला अरू कौन र ?२।
फुल्छन् फूलहरू विभिन्न रङमा राता पहेँला कति
झुल्छन् बागहरू तिनै सुमनका पाएर साथै अति
फल्ने वृक्षहरू यसै जगतका सम्पूर्णको रक्षक
प्राणी बन्न गयौं सदा जगतको माली तथा भक्षक ।३।
सारा सूर्य र चाँदनी सहितको नीलो खगै त्यो पनि
तारापुन्जहरू भए पनि यहाँ बाँच्थ्यो र के जिन्दगी
धर्ती नै नहुँदो त हो यदि भने के अर्थ तिन्को थियोे
ब्रह्माविष्णु र शङ्करै पनि यहाँ हार्थे अरू के रह्यो ?४।
ब्रह्माको सपना फुलाउनकनै आधार धर्ती छ हे
बाँच्यो जीवन यो धरा भइकनै श्रीविष्णु पालक् भए
धर्तीको लिइ साथ नै त शिवले संहार गर्दा भए
हुन्थ्यो के सबको विचार भवको धर्ती नहूँदो भए ?५।
हामी मानव नै कहाँ बसिकनै गर्ने थियौं उद्यम
बाली बोट कहाँ लगाइ रहने ? उब्जाउ नै खत्तम
चौपाया र पखेरु औ जलचरै स्थूलै र सूक्ष्मैहरू
कौनै जीवनको थिएन रहने आधार नै क्यै अरू ।६।
पायौं जन्मन नै सबै चरहरू धर्ती हुनाले यहाँ
बाँच्नैको सबमा मुराद मनमा बढ्दो छ धर्तीमहाँ
आफूमात्र बची अरू सबकनै सिध्याउने खेलमा
मान्छे लाग्छ भने, पवित्र वसुधा रुन्छिन् अवश्यै यहाँ ।७।
हाम्रो कर्म धरा सुवासित गरी चम्काउनू बेसरी
हाम्रो धर्म यही हँसाइ धरती उब्जाउनू केशरी
लाखौं यत्न गरी बचाइ धरणी फैलाउनू बासना
लागौं है सबले मिलेर वसु नै खित्का छरी हाँसन ।८।
उद्योगी र किसान जो जति यहाँ सत्कर्मका खातिर
लागेका जति छन् सबै जनहरू भूगोलका मालिक
गर्दा काम सबै विकास भवको सद्भाव सत्काम होस्
आफ्नै पौरखले धिकार भनने कोही कसैमा नहोस् ।९।
राजा रङ्क सबै यसै भुवनका औतार हुन् प्रेमको
माया जीवनको सबैकन उही बाँच्ने इरादा छ यो
उस्तै आश छ जीउने सकलमा हाँसीखुसी भैकन
संसारै रचना भयो सबकनै बाँचौँ बचोस् जीवन ।१०।
स्रोत: हरिप्रसाद ढकालको फेसबुकबाट साभार