आज :

ताजा समाचार



हरिप्रसाद ढकाल द्वारा वसन्ततिलका छन्दमा रचित ‘मेरी प्रिया’ शीर्षकको कविता

  पुरुषोत्तम ढकाल    २७ बैशाख २०७७, शनिबार १०:१२      100 Views

हरिप्रसाद ढकाल / चानपा-७, भक्तपुर

कविताको शीर्षक: मेरी प्रिया

मेरी प्रिया किन अहो चुपचाप बस्छ्यौ ?
बोली खुलेन किन हो ? मनभित्र हाँस्छ्यौ ।
हाँसो सुकोमल छ यो मनमा कुँदेको
मुस्कानको जलधिमा म यहाँ डुबेको ।१।

बोली खुलाइ गर बात नलाग चूप
बोल्दा हुने सुनयनी, चुपमा विरूप
मीठो गरेर वचनै निकटै त बस्ता
यो देहमा शितलता, नजरै त मस्त ।२।

पारेर चक्षु रसिला निकटै नआऊ
सारा व्यथा पिर सबै मनका भगाऊ
आँटी भई बढ तिमी सहसा उज्याली
यस्ती प्रिया भइदिँदा म छु भाग्यशाली ।३।

धोएर राख मनको जति जे छ मैलो
खोलेर राख घरको सुरद्वार दैलो
आऊन् सबै निकटका हितमित्र साथी
खाई पिई सब रहून् नभनून् नजाती ।४।

दुःखी दरिद्र यदि क्वै घरमा चिहाए
पारी खुसी विजनमा पनि खुब् सुहाए
नाता कुटुम्ब सबमा, मनको विहार
राख्नै सके सकलमा हँसिलो मुहार ।५।

लक्ष्मी तिमी स्वगृहकी धनधान्य माली
गाऊन् सबै प्रगतिका वचनै र ताली
पाऊन् यहाँ सबजना सुखको सुवास
फैलाउँदै पथिकका मनमा मिठास ।६।

उम्रन्न बोट सजिलै मल नै नपाए
हाँगा र पात लहरा जल नै नपाए
बढ्दैन वृक्ष जसरी घनघोर ओग
त्यस्तै भए मनविषे बढिजान्छ रोग ।७।

हाँस्नू सधैं सुख र दु:ख हुँदा समान
संसार यो जलघडा बुझ मोह माया
मानेर केवल पिडा बटुली निराशा
बस्नै त हुन्न त्यसरी, सम राख आशा ।८।

विश्वासको दिपक त्यो मनमा जलाऊ
आँटी र धैर्य गुणले मन त्यो भिजाऊ
सस्तो बनेर तमसा दुनियाँ हँसाई
छाडा र मूर्ख नभनून् खर आइमाई ।९।

छाया दिएर मकनै शित ताप छेक
माया दिएर अब जीवनमा अनेक
सन्तानका उपरमा ममता भिजाई
यो जीवनै सकलको गर है सिँचाइ ।१०।

स्रोत: हरिप्रसाद ढकालको फेसबुकबाट साभार 

प्रतिक्रिया दिनुहोस