आज :

ताजा समाचार

लाइन विस्तार र मर्मतको बेलामा पनि बत्ती नजाने गरी काम गरिरहेका छौँ

  पुरुषोत्तम ढकाल    २४ बैशाख २०७७, बुधबार ११:१५      2116 Views

काठमाण्डौ: बिजुलीको पोल विस्तार या स्थान परिवर्तन गर्दा, ट्रान्सफर्मरमा गडबडी या अरु केही समस्या आउँदा बत्ती झ्याप्पै जाने समस्या नयाँ होइन । मर्मत र विस्तारका लागि जति समय लाग्ने हो, त्यति नै समय उपभोक्ताले बिजुली उपभोग गर्न नपाउने अहिलेको बाध्यता छ । यस्तो बाध्यता कहिले हट्छ भनेर नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग गरिएको कुराकानी  यसप्रकार छ ।

लकडाउनका कारण उद्योग तथा कलकारखाना सबै ठप्प हुँदा पनि बेलाबेला लामै समयसम्म बत्ती किन गइरहेको छ ?

हावाहुरी, चट्याङसहित पानी पर्दा बत्ती जाने गरेको हो । कलकारखाना बन्द भएर पनि प्राकृतिक कुराहरुलाई त हामीले रोक्न सक्ने अवस्था छैन । यी अवस्थाबाहेक अहिले खासै बत्ती जाने गरेको त छैन । बिजुली खेर नै गइरहेको छ । अहिले लोड पनि छैन । वैशाख, जेठ असारको यो समयमा केही समस्याहरु त आइ नै रहन्छ । ट्रान्समिसन लाइनहरुमा समस्या आउने, रुख ढाल्नुपर्ने, वितरण लाइनमा समस्या आउने, सडकका कामहरु भइरहँदा कतै पोलहरु सार्नुपर्नेलगायतका काम गर्दा बिजुली काट्नुपर्ने बाहेक अरु समस्या छैन ।

चट्याङ र पानी नपरेको समयमा पनि ६ देखि ७ घण्टासम्म बिजुली नआउँदा उपभोक्ता समस्यामा परिरहेका छन् नि ?

लकडाउनको यो समयको सदुपयोग गरी केही ठाउँमा मर्मत सम्भारको काम पनि भइरहेको छ । कतै ट्रान्सफर्मर बिग्रिएको पनि हुन सक्छ । सडक विस्तारका कारण पोल सार्नुपरेकोले त्यस्तो भएको पनि हुन सक्छ । अरु सबै प्रणालीहरु ठिक अवस्थामै छन् । अर्को कुरा, यति लामो समय बत्ती गइरहेको कुरा मेरो जानकारीमा छैन । ती ठाउँहरुमा किन बत्ती बन्द गरिएको हो म बुझौँला । तत्काल म समन्वय गरिहाल्छु । त्यसरी लामो समयसम्म बिजुली बन्द गर्नुहुँदैन ।

लामो समयसम्म बिजुली आउँदैन भन्ने कुरा उपभोक्तालाई अग्रिम थाहा नै हुँदैन । किन यस्तो भएको ?

सामान्यतया ४ देखि ५ घण्टाभन्दा धेरै समय बिजुली बन्द गर्नुपर्ने अवस्था आयो भने त्यसको अग्रिम जानकारी गराउनुपर्छ । मिडिया या अनलाइनमा अग्रिम सूचना प्रकाशन तथा प्रसारण गरेर मात्रै तालिकामा रहेर मर्मत र विस्तारको काम गर्नुपर्ने हुन्छ । ट्रान्सफर्मर फेर्नका लागि पनि अलि लामै समय लाग्ने गर्छ । सडक विस्तारका कारणले पनि पोल सार्नुपर्दा विद्युत् अवरोध हुने गरेको छ । त्यस्ता कामहरु दिउँसै गर्नुपर्ने हुन्छ । त्यसमा अग्रिम सूचना निकाल्नुपर्ने हो । कतिपय ठाउँमा जानकारी नै नगराइ कामहरु भइरहेको पनि हुन सक्छन् । कुन–कुन ठाउँमा त्यस्तो समस्या हो, म समन्वय गरी त्यसो नगर्न भन्नेछु ।

काठमाण्डौ उपत्यकाभित्र अहिले बिजुली विस्तार र मर्मत सम्भारका के–के काम हुँदैछ ?

अहिले चट्याङ पनि परेको छैन, पानी पनि लामो समयसम्म परिरहेको छैन । त्यसो हुँदा लामो समय बिजुली अवरोध हुने सम्भावना पनि हुँदैन । अहिले बिजुली बन्द हुनुको मुख्य कारण भनेको नै लाइन विस्तार र मर्मत नै हो । अहिले हामीले काठमाण्डौमा मात्रै एक हजार वटा जति ट्रान्सफर्मर थप्ने तयारी गर्दैछौँ । अब काठमाण्डौमा लोड एकदमै बढ्ने सम्भावना छ । त्यसलाई धान्ने गरी ट्रान्सफर्मर थप्नुपर्ने भएकोले पनि केही समय लाइन काट्नुपर्ने बाध्यता छ ।

यसअघि दिनमा झण्डै चार सय ५० मेगावाटको लोड थियो । अहिले त झन् दुई सयको हाराहारीमा मात्रै लोड छ । त्यो बढेर पाँच सयभन्दा धेरै मेगावाट हुने सम्भावना छ । वर्तमान अवस्थामा यसरी हेर्दा जति बिजुली भए पनि धान्ने प्रणाली विस्तार गरिएन भने त्यो के काम लाग्यो र हैन ? बिजुलीको लोडलाई कसरी सामान्यीकरण गर्ने भन्नेमै हामीले जोड दिएर काम गरिरहेका छौँ । अरु केही ठाउँमा बिजुलीका पोल सार्ने काम पनि भइरहेका छन् । लकडाउनको यो समयमा कलकारखाना र उद्योगहरु बन्द हुने भएकोले यही मौका छोपेर ती काम पनि भइरहेका छन् ।

कतै मर्मत या विस्तारका कारण घण्टौँ समयसम्म नै बिजुली बन्द गर्नुपर्ने समस्यालाई दिगो रुपमै समाधान गर्न केही गर्न सकिने सम्भावना छ ?

हो, हामीले त्यसका लागि पनि काम गरिरहेका छौँ । एउटा लाइनमा काम गर्दा अर्को लाइनबाट बिजुली सप्लाइ हुने गरी काम गरिरहेका छौँ । काठमाण्डौका भित्री भागतिर पनि  हामीले त्यसैका लागि पनि अहिले ट्रान्सफर्मर थप्न खोजिरहेका छौँ । हाई भोल्टेज ट्रान्समिसन लाइनहरु बनाउने, सब–स्टेशनहरु थप्नेलगायतका काम अहिले भइरहेको छ । ‘सिङ्गल सोर्स’ का कारण मर्मत सम्भार र विस्तारका क्रममा लाइन बन्द गर्नुपर्ने अवस्था आएको हो । यो बाध्यतालाई अन्त्य गर्ने गरी हामीले काम गरिरहेका छौँ । जस्तो कि, स्यूचाटार र रामकोटामा लाइनको काम गर्नुपरेको छ भने त्यहाँ अर्को ठाउँको लाइन ‘कनेक्ट’ गर्न सकियो भने त कतै पनि अवरोध भएन । काम गर्नेले पनि ढुक्कसँग काम गर्न पायो नि । काठमाण्डौमा मात्रै दुई हजार मेगावाटको लोड आयो भने पनि त्यसलाई धान्ने गरी कामअघि बढाउँदै छौँ ।

एकछिन पनि बिजुली नजाने गरी प्रणाली विस्तारका लागि कति समय लाग्ला ?

यसका लागि धेरै काम गर्नुपर्ने छ । एकछिन पनि बिजुली नजाने बनाउनका लागि ‘ओभरल सिस्टम’ मा धेरै नै सुधार गर्नुपर्ने छ । त्यो काम सुरु भइसकेको छ । केही समय त लाग्ला । तर अब कतै समस्या आयो, ट्रान्सफर्मर नै फेर्नुपर्ने भयो या अरु कुनै मर्मत सम्भार र विस्तारको काम गर्नुपर्यो भने पनि बिजुली काट्न नपर्ने गरी काम गरिरहेका छौँ । केही समयमै हामी त्यसको अन्तिम बिन्दुसम्म पुग्ने छौँ ।

लाइन विस्तार भएका ठाउँहरुमा रुखका हाँगाले नाङ्गो तार छुने, हरेक वर्ष रुख ढाल्नुपर्ने, रुखमा चढेको मान्छेलाई करेण्ट लाग्ने, बिजुलीका पोलमा छोइँदा करेन्ट लागेर ज्यान नै गुमाउनुपर्ने धेरै समस्या पनि छन् । यसतर्फ चाहिँ के सोचिरहनुभएको छ ?

हो, अहिले त्यस्ता ठाउँहरु पहिचान गरी रुखहरु ढाल्ने काम पनि भइरहेका छन् । हाम्रा फिडरहरुमा पानी पर्यो भने चाँडै बिग्रने भएकोले त्यसलाई मर्मत सम्भार पनि गर्दैछौँ । अहिले हामीले काठमाण्डौभरि अण्डरग्राउण्ड केबलिङको काम पनि गरिरहेका छौँ । अण्डरग्राउण्ड गरिसकेपछि चट्याङलगायत बाहिरी कारणले आउने समस्या हल हुनेछ । तपाईँले भन्नुभएजस्तै हरेक वर्ष रुख ढालेर हिँड्नुपर्ने अवस्था आउँदैन । काठमाण्डौ, ललितपुर र भक्तपुरमा अण्डरग्राउण्ड केबलिङका काम  भइरहेका छन् । अहिले चावहिल क्षेत्रमा काम भइरहेको छ । यसले धेरै सिस्टमलाई सुधार गर्ने हामीले अपेक्षा गरेका छौँ ।

सडक विस्तार गर्दा या इन्टरनेट सेवा प्रदायक कम्पनीका कारण पनि बिजुलीका पोल सार्नदेखि मर्मत सम्भारमा केही समस्या भइरहेको हो ?

सकेसम्मको समन्वय त हामीले गरी नै रहेका छौँ । हो, तपाईँले भन्नुभएको जस्तो इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले पनि त्यही पोलमार्फत तार टाँगिरहेका छन् । सडक विस्तार हुँदा पनि हामीले पोल सार्नुपर्ने हुन्छ । कम्पनीहरुको तारले पनि भनेको समयमा काम गर्न सकिरहेका छैनौँ । केही समस्याहरु त भइरहेकै छन् । त्यसका लागि दिगो समाधानको बाटो खोजिरहेका हौँ हामीले । अलिअलि समस्या त आउला तर समस्या न्यूनीकरण गर्नेतिर चाहिँ हामी घनीभूत रुपले लागिपरेका छौँ ।

काठमाण्डौ केन्द्रित लाइन विस्तारका अरु काम चाहिँ के–कसरी भइरहेका छन्, अहिले ?

काठमाण्डौभित्र र बाहिर पनि कहाँ–कहाँ सब–स्टेशनहरु आवश्यक पर्ने हो, त्यहाँ–त्यहाँ आवश्यकता पहिचान गरी काम अघि बढाइरहेका छौँ । काठमाण्डौमा दुई हजारदेखि २५ सय मेगावाटसम्मको लोड हुँदा पनि धान्ने गरी लाइनका काम हुँदैछन् । काठमाण्डौभित्र छिर्ने लाइनहरु– जस्तो मस्र्याङ्दीबाट काठमाण्डौ जोडिने दुई सय २० केभीको काम सकिन लागेको छ । त्रिशूलीदेखि मातातीर्थसम्मको दुई सय २० केभी लाइनको काम सकिएको छ । खिम्ती, बाह्बिसे हुँदै लप्सीफेदीसम्मको चार सय केभी लाइन बन्दैछ । त्यो एकदेखि साढे एक वर्षमा बनिसक्छ । काठमाण्डौलाई फोकस गरेर धेरै लाइनका काम भइरहेका छन् ।

अर्को एमसीसी परियोजनामार्फत हेटौँडाबाट गल्छी हुँदै लप्सीफेदीसम्म अर्को चार सय केभीको लाइन पनि काठमाण्डौसम्म आउने अवस्थामा छ । काठमाण्डौ केन्द्रित ठूलो सर्किट बन्दै छ, कम्तीमा पनि सबै ठाउँमा दुई वटा लाइनको पहुँच पुर्‍याउन सकियो भने एउटा लाइनमा समस्या भयो भने पनि अर्को लाइनबाट परिपूर्ति गर्ने गरी काम भइरहका छन् । अबको एकदेखि दुई वर्षसम्ममा त्यो काम सकिन्छ होला । हाई भोल्टेज लाइनहरुलाई अन्डरग्राउण्ड गरेर ल्याउने तयारीमा पनि हामी छौँ । अबको १२ १५ वर्षपछिको समेत मूल्याङ्कन गरी हामीले काम गरिरहेका छौँ । जहाँसम्म लाग्छ, अबको केही वर्षमा हामी यी सबै समस्याको न्यूनीकरण गर्ने अवस्थासम्ममा पुग्नेछौँ ।


प्रतिक्रिया दिनुहोस