एजेन्सी: कोरोना भाइरसबाट अमेरिकामा मंगलबार अहिलेसम्मकै बढी व्यक्तिको मृत्यु भएको समाचार संस्थाहरुले जनाएका छन् ।
अमेरिकाभर एकैदिन मृत्यु हुनेको संख्या १८ सय ५८ रहेको छ भने यस दिन न्यूयोर्कमा मात्रै ८ सय बढीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
जोह्न्स हप्किन्स युनिभर्सिटीका अनुसार एकैदिन मृत्यु हुनेको संख्या यसअघि ४ अप्रिलमा १३ सय ४४ थियो ।
न्युयोर्क गभर्नर एन्ड्रयु कुमोकाअनुसार मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । संक्रमितको संख्या भने एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ ।
अहिले संसारमै सबैभन्दा बढी व्यक्ति अमेरिकामा संक्रमित भएका छन् । त्यहाँ संक्रमित हुनेको संख्या ४ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १२ हजार ८ सयभन्दा बढी छ ।
संसारभर संक्रमितको संख्या १४ लाख ३० हजारभन्दा बढी हुँदा अमेरिका एउटै देशमा संक्रमितको संख्या चार लाख नाघेको हो ।
अमेरिकी अधिकारीहरुले यो हप्ता पनि निकै खराब हुने बताएका छन् ।
भाइरसको संक्रमणका कारण विश्वभर भने ८२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
१४ लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएकामा तीन लाख १ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १७ हजार १ सय भन्दा धेरै छन् भने स्पेनमा १४ हजार नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ४१ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ३५ हजार नाघेको छ ।
फ्रान्समा मृतकको संख्या १० हजार ३ सय नाघेको छ । बेलायतमा ६ हजार १ सय नाघेको छ । इरानमा मृतकको संख्या ३८ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ३१ छ । जर्मनीमा मृत्यु हुनेको संख्या २ हजार नाघ्दा बेल्जियममा २०३५, नेदरल्याण्डस्मा २१ सयभन्दा बढी छ ।
भारतमा १५० जनाको मृत्यु हुँदा ५३ सयभन्दा बढी संक्रमित भएका छन् ।