काठमाडौं : कोरोना भाइरसका कारण फ्रान्समा १० हजार भन्दा बढीको मृत्यु भएको छ ।
गत वर्ष चीनबाट सुरु भएको कोरोनाको विश्वव्यापी महामारीबाट बढी मानिसको मृत्यु हुने देशमा फ्रान्स चौथो नम्बरमा पुगेको छ ।
फ्रान्समा दश हजार भन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिकाको न्युयोर्कमा एकै दिन कोरोनाका कारण ७३१ जनाको मृत्यु भएको छ ।
कोरोनाका कारण अमेरिकामा हालसम्म १२ हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यस्तै स्पेनमा पछिल्लो पाँच दिनको तुलनामा मृत्यु हुनेको संख्या बढेको छ ।
स्पेनमा पछिल्लो चौबिस घण्टामा ७४३ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १४ हजार भन्दा बढी भएको छ ।
कोरोनाको संक्रमण रोक्न जापानले यसअघि नै ६ महिनाको आपतकालीन अवस्था घोषणा गरेको छ भने अधिकांश देशले आफ्ना हवाइ तथा स्थलगत नाकाहरु बन्द गरेका छन् ।
कतिपय देशले आफ्ना नागरिकलाई घरमै बसेर कोरोनाको संक्रमणबाट बच्न आग्रह गरेको समाचारमा जनाइएको छ ।
यसैबीच कोरोनाको संक्रमणपुष्टि भएको दश दिनपछि अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आइसीयुरमा राखिएको छ ।
सोमबार लण्डनस्थित सेन्ट थामस अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्था स्थिर रहेको बीबीसीले जनाएको छ ।
यता कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या करिव ८२ हजार पुगेको छ ।
१४ लाख २५ हजार ८ सय ६८ जना संक्रमितमध्ये तीन लाख एक हजार ८ सय २८ जना उपचारपछि घर फर्किएका छन् ।(एजेन्सी)