काठमाडौं: कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण थप तीनजनामा देखिएको छ ।
मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखन्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।
महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन् ।
यो सँगै नेपालमा कोभिड–१९ को संक्रमितको संख्या ९ पुगेको छ ।
उनीहरुको केही दिनअघि स्वाब लिएकोमा शुक्रबार गरिएको परीक्षणका क्रममा संक्रमण देखिएको महाशाखाका निर्देशक डा. पाण्डे बताए ।
तीनैजनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि, विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को संक्रमण देखिएपनि पहिलोपटक नेपालभित्रकै महिलामा संक्रमण देखिएको हो ।
गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को संक्रमण देखिएको थियो । उनी निको भइ घर फर्किसकेका छन् ।
अन्य संक्रमितको भने ‘आइसोसेलन’मा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ । रासस