काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका लागि स्वयमसेवी बन्न आग्रह गरेका छन् ।
विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण कार्यकर्ता भेटघाट बन्द गरेका प्रचण्डले भिडियो सन्देशमार्फत् सावधानीपूर्वक स्वयंसेवीको भूमिका निर्वाह गर्न, नेतृत्व गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
“विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रूपमा सचेत गराइरहेका वेला, म नेपाल सरकार, प्रदेश र स्थानीय तहका सरकार तथा नेकपाका सबै तहका नेता कार्यकर्ता र सदस्यहरूलाई स्वयम्सेवीका रूपमा यस सङ्क्रमणविरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व गर्न आग्रह गर्दछु । सचेत नागरिक, आम सञ्चारमाध्यमको जिम्मेवारीपूर्ण आधिकारिक सूचनाले नै जोखिममा पर्नबाट जोखिन सकिन्छ भन्ने तथ्यलाई गहिरोगरी आत्मसात गर्न आग्रह गर्छु,” उनले शनिबार जारी गरेको भिडियो सन्देशमा भनेका छन् ।
प्रचण्डले कोभिड–१९ का विरुद्ध विजय प्राप्त गर्न नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठनले दिएका जारी गरेका निर्देशन, आचारसंहिता पालना गर्न पनि उनले आग्रह गरेका छन् । उनले सबै नागरिकलाई घरमै बसेर आफ्नो, देश र दुनियाँभरको अमूल्य जीवनको रक्षा गर्न अपिल पनि गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कोरोना परीक्षण सामग्री, स्वास्थ्य उपकरण, सुरक्षा कवच नभएकाले सातै प्रदेश र केन्द्रमा यथाशीघ्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् ।